काठमाडौं– नायिका आँचल शर्माले पछिल्लो समय चलचित्र ‘झींगे दाउ’ बाहेक अरु चलचित्रमा साईन गरेकी छैनन्। कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘झींगे दाउ’को छायांकन मंसिर ५ गतेबाट सुरु हुँदैछ। यो चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन्।
बरिष्ठ साहित्यकार भीमनीधि तिवारीको ‘अन्तरे भाग’ मा समावेश ‘झींगे दाउ’मा आधारित रहेर यो चलचित्र निर्माण हुन लागेको हो। यो चलचित्रका लागि कलाकारहरुमा मुकुन भुषाल, केकी अधिकारी र आँचल शर्मा फाइनल भैसकेका छन्।
अब, नव–नायकको रुपमा निर्माण यूनिटले कुशल बिष्टलाई अनुवन्धित गरेको छ। चलचित्रमा उनी नायिका आँचल शर्माको जोडीको रुपमा देखिने भएका छन्। खोटाङ्को हलेसीबाट यो चलचित्रको छायांकन सुरु हुने निर्देशक देउजाले जानकारी दिए।
चलचित्रको दोश्रो सेड्यूल भने भकुण्डेबेसीमा निर्माण भएको भिन्न भिन्न सेटमा गरिनेछ। चलचित्रमा बिष्णु कल्पितको छायांकन, रोशन श्रेष्ठको एक्सन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, प्रदिप भारद्धाजको पटकथा तथा संवाद रहनेछ। चलचित्रको छायांकन सुरु नहुँदा यसको निर्माण नै नहुने हो कि भन्ने अन्यौलता समेत बढेको थियो। मिति तोकिएपछि सबैलाई ढुक्क भएको छ।