एजेन्सी- आईफोन निर्माता कम्पनी एप्पलले नयाँ भर्सनको म्याकबुक प्रो सार्वजनिक गरेको छ। १६ ईन्च डिस्प्ले सहितको ल्यापटपमा नयाँ डिजाइनको किबोर्ड प्रयोग गरिएको छ।
यस अघि सन् २०१५ मा एप्पलले म्याकबुकको किबोर्ड परिवर्तन गरेको थियो। कम्पनीले त्यो बेलामा ल्याएको नयाँ डिजाइनको किबोर्ड असजिलो भएको केही प्रयोगकर्ताले बताउँदै आएका थिए। प्रयोगकर्ताबाट म्याकबुक प्रोको किबोर्ड असजिलो भएको प्रतिक्रिया आएपछि डिजाइन परिवर्तन गरिएको कम्पनीले जनाएको छ।
सन् २०१५ यता हटाइएको इस्केप बटन पुनः राखिएको छ। केही वर्षयताको म्याकबुक प्रो मोडलमा भर्चुअल किबोर्ड थपिएको थियो। अहिले पनि भर्चुअल किबोर्डको लागि केही स्थान राखिएको छ।
किबोर्डबाहेक नयाँ मोडलको ल्यापटपमा ६४ जीबी मेमोरी र रेटिना डिस्प्ले प्रयोग गरिएको छ। उक्त ल्यापटपमा तात्ने समस्या समाधानको लागि फ्यानको ब्लेड ठूलो पारिएको र हावाको वहाव २८ प्रतिशत बढी हुने कम्पनीको दाबी छ।
कम्युटरमा एएमडी रेडन प्रो ५००० एम ग्राफिक्स कार्ड प्रयोग गरिएको छ। यसले रेन्डरिङ छिटो हुनुको साथै बढी ग्राफिक्स कार्ड प्रयोग हुने सफ्टवेयर चलाउँदा पनि स्लो नहुने कम्पनीले जनाएको छ। यो ल्यापटप केही सातापछि बिक्रीको लागि बजारमा आउनेछ।