काठमाडौं– अमेरिकामा प्रिमियर शो गरिसकेको भोली शुक्रबारदेखि नेपालभर रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’ को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक गरिएको छ।
डेभिड शंकरको स्वर, देव भुषालको शब्द रहेको गीतमा दिपक शर्माको संगीत छ। गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, निरज कँडेलको छायांकन, जीवन थापाको सम्पादन छ। यो चलचित्रमा देव भुषालको लेखन तथा निर्देशन छ। चलचित्रको यो गीतमा मुख्य कलाकारहरु साहिल श्रेष्ठ, कुसुम राउत, नन्दु श्रीवास्तव, विष्णु सापकोटा, रवि डंगोल लगायतका कलाकारहरु फिचर्ड छन्।
चलचित्रलाई प्रेमराज दाहालले निर्माण गरेका हुन्। चलचित्रमा भूवन केसी, सरोज खनाल, कमलमणी नेपाल, रीमा विश्वकर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका छ। यो चलचित्रले विदेशमा रहेपनि नेपालीपन हराउँदैन भन्ने कथालाई उठान गरेको छ। अर्थात बाध्यताले विदेश बसेतापनि मन नेपाली नै हुन्छ भन्ने कथा बोकेको छ। केही दिन अगाडि अमेरिकामा भएको विशेष शोमा यो चलचित्रलाई रुचाइएको थियो।
https://youtu.be/oMLEPrXw6WI