काठमाडौँ— अहिले पसलमा ग्यास किन्न जाँदा पसलेहरुले ग्राहकलाई धमाधम ग्यास छैन भन्दै फर्काइरहेका छन्। ग्यास सर्टेज हुने हल्लाले व्यवसायीले ग्यास लुकाएको ग्राहकको आरोप छ।
तर नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइत ग्यास अभावको हल्ला बेकारको भएको बताउँछन्। उनले ग्यास आउनुपर्ने जति आइरहेको र कुनै पनि समस्या नभएको बताएका छन्।
यता एलपिजि ग्यास उद्योग संघका उपाध्यक्ष कुश मल्ली पनि ग्यास अभाव नभएको बताउँछन्। उनले भारतको बरौनी र मथुराबाट ग्यास ल्याइने भएकाले बरौनी केही दिनका लागि बन्द हुँदा केही कम ग्यास आएको बताएका छन्।
यद्यपि, व्यवसायीले ग्राहकलाई फर्काउँने गरी ग्यास अभाव नभएको उनको भनाई छ। उनी भन्छन्, ‘पूर्णतया ग्यास आएको छैन, सरसफाइका लागि बरौनी बन्द छ तर केही दिन नआउँदै नेपालमा अभाव हुँदैन। ग्यास मथुराबाट आइरहेको छ।’