झापा–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा प्रकरणमा दक्षिणी छिमेकीको ‘हेपाइ’का माझ उत्तरी छिमेकीबाट पनि नेपालले हेपिनुपरेको बताएका छन्। नेता पौडेलले दुई वर्षअघि भारत र चीनले गरेको लिपुलेकसम्बन्धी सम्झौतामा नेपालको स्वार्थ बेवास्ता गर्दै दुईवटै देशले नेपाललाई हेपेको बताए।
उनले भने, “परारका साल भारत र चीनले लिपुलेक सम्झौता गरे। लिपुलेक तीन देशको सिमानामा पर्छ। त्यो बेला चीनले नेपाल पनि चाहिन्छ भनेन। भारतले त हेप्योहेप्यो, चीनले पनि हेप्यो।’’ तीन देशबीचको सीमाका कुरा गर्दा नेपाललाई आवश्यक नठान्नुले दुईवटै देशले नेपाललाई हेपेको देखाउने उनको तर्क थियो।
‘अन्तर्राष्ट्रियकरण गर्ने बेला भएको छैन’
नेपाल र भारतबीचको सीमा विवादका विषय चर्चामा आए जस्तो अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने बेला भइनसकेको पौडेलले बताए। लिपुलेक तथा कालापानी भारतको नयाँ नक्सामा राखिएपछि चर्किएको सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्ने चर्चा चलिरहेको अवस्थामा उनको यो धारणा आएको हो।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्ने बेला भइनसकेको धारणा सार्वजनिक गरिसकेका छन्।
उक्त सीमा विवाद भारतसँग उच्चस्तरीय द्विपक्षीय वार्तामा बसेर निराकरण गर्नुपर्ने पौडेलले बताए। पौडेलले भने, “यो विवादका बारे नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग कुरा राख्नुपर्छ र समाधान गर्नुपर्छ।’’
‘पहिला आफू बलियो’ उनले पहिला आफूसँग बलियो प्रमाण भएपछि मात्र उक्त विवादलाई अन्तर्राष्ट्रियकरण गर्न उपयुक्त हुने बताए। झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेता पौडेलले हाल देखिएको सीमा विवादका विषयमा बसेको सर्वपक्षीय बैठकले भारतसँग कुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको बताए।
कालापानी नेपालको भूभाग भएको र भारतले आतिक्रमण गरेको भन्दै नेपालमा त्यसको चर्को विरोध भएको छ। उनले भने, “अहिले बलियो सरकार छ। सरकारले उक्त विषय भारतसँग राख्नुपर्छ भन्ने कुरा भएको हो।’’ सीमाका विषयमा नेपालको कमी कमजोरीका कारण पनि अहिले समस्या आएको उनले बताए।
उनले भने, “हाम्रा सीमा स्तम्भहरु ढल्छन् अनि बनाउन ध्यान दिइँदैन। हाम्रो पनि लापरबाही छ। हाम्रा प्रमाणहरू, नापनक्साहरू, आफ्नो भूगोल संरक्षण गर्न नसकिएको हो।’’
उनले अहिले राष्ट्रिय रूपमा जागरण आएका बेला सरकारले पहल गरेर भूमि विवाद समाधान गर्नुपर्ने बताए। उनले भने, “यो अवसरलाई गुम्न दिनुहुँदैन। राजनीतिक स्थिरता रहेको र निश्चित सरकार भएको बेलामा समाधान होओस् भन्ने हाम्रो कुरा हो।’’
भारतीय राजदूतलाई देउवाले के भने?
कालापानी विवाद चर्किएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग टेलिफोनमा गरेको कुराकानी प्रकाशमा आएको थियो।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सीमा विवाद प्रकाशमा आएको २४ घण्टाभित्र नेपालका लागि भारतीय राजदूतसँग सरकारले उक्त विवादबारे जानकारी लिनुपथ्र्याे।
उनले ४८ घण्टा भएपछि प्रतिपक्षी दलको नेता एवम् पूर्वप्रधानमन्त्रीको हैसियतले शेरबहादुर देउवाले भारतीय राजदूत पुरीसँग टेलिफोनमा कुरा गरेको बताए।
शर्माले भने, “सभापतिज्यूले राजदूतसँग भारतको नयाँ नक्सामा नेपाली भूमि परेकोमा आपत्ति जनाउनु भएको छ। प्रत्युत्तरमा राजदूतले उक्त विषय गम्भीरतापूर्वक भारतीय पक्षले लिएको र भारत सरकारलाई जानकारी गराउने कुरा सभापतिलाई सुनाउनुभएको छ।’’ बीबीसी