काठमाडौं – सत्तारूढ समाजवादी पार्टी, नेपालले सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपालाई पतनको दिशामा अघि बढेको टिप्पणी गरेको छ। बिहीबारबाट शुरू भएको सङ्घीय परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेकपा दार्श्निक, वैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भइसकेकाले संगठनात्मक रुपमा मात्र लामो समय बलियो भइरहन नसक्ने ठोकुवा गरिएको छ।
‘आउँदा केही वर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ । नेकपाको राजनीतिक व्यवहार र नेकपाले सञ्चालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्दैछ । यो पार्टीका ठूल्ठूला नेताहरु भ्रष्टाचार तथा नैतिक पतनका घटनामा लज्जास्पद ढंगले उदांगिदैछन,’ उसले भनेको छ।
आर्थिक क्षेत्रमा नेकपाले कांग्रेसको नवउदारवादी नीतिलाई नै निरन्तरता दिइरहेको बताउँदै शिक्षा र स्वास्थ्यको व्यापारीकरण कम्युनिष्ट नेतृत्वको सरकारमा पनि जारी रहेको समाजवादीले उल्लेख गरेको छ।
‘एनसेलको पुँजीगत लाभकर, बूढीगण्डकीको गेजुवा तथा वाइडवडी कमिसन प्रकरण भएका छन् । सम्पति शुद्धीकरण विभागलाई निस्क्रिय बनाउने तथा ठूला आयोजनाहरू बिना टेन्डर सीधै सम्झौता गर्न सक्ने प्रकरणको भित्री रहस्य कालो धन र कमिसनतन्त्रसँगको साँठगाँठ हो भन्ने कुरामा कुनै शंका छैन,’ प्रतिवेदनमा भनिएको छ।
प्रचण्ड नेतृत्वको माओवादी र एमाले एक भएर बनेको सत्तारुढ नेकपा अहिले ‘संसदवादी’ र ‘कम्युनिष्ट’ बन्ने अन्तरविरोधपूर्ण बाटोमा अग्रसर भएको समाजवादीको दृष्टिकोण छ। पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्यहरु विश्वव्यापी रूपमा असफल भएपछि नेपालको कम्युनिष्ट आन्दोलन कुहिरोको कागजस्तो बनेको उसको निष्कर्ष छ।
एकातिर उनीहरुले मार्क्सवाद–लेनिनवाद– माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन्। अर्को्तिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे उनीहरुमा व्यापक अन्यौल, अविश्वास, निरासा र हिनताभाष छ। यही वैचारिक संकटबीच उनीहरुले आफूलाई ‘दार्श्निक तथा वैचारिक कम्युनिष्ट नभएर केवल राजनीतिक रूपमा मात्र कम्युनिष्ट’ भएको बुझिदिन आग्रह गर्दै आएका छन् ।
एकातिर लोकतन्त्रप्रतिको आफ्नो निष्ठामा शंका नगर्न अनुनय विनय गर्दछन् अर्कोतिर ‘कम्युनिष्ट– कम्युनिष्ट’ को नाममा सामिप्यता र आडभरोसा खोज्न पनि छोडेका छैनन् । एकदलीय सर्वहारा राज्य वा कम्युन प्रणालीलाई मौका पर्ने्वित्तिकै गौरवीकरण गर्दछन् । यसरी नेपालको कम्युनिष्ट आन्दोलन वैचारिक रुपले अँध्यारो सुरूङभित्रको यात्रा गरिरहेको छ, समाजवादीले निचोड निकालेको छ।
वर्तमान संविधान जारी गर्दाका बखत कांग्रेससँग मिलेर मधेसी, जनजाति, आदिवासी, थारु, मुस्लिम, खस, शिल्पी, दलित, महिला आदि आन्दोलनलाई निर्मम दमन गर्ने, सप्तरीको मलेठजस्ता घटना गराउन तत्कालीन एमाले र अहिलेको नेकपा उद्दत रहेको समाजवादीको आरोप छ ।
टिकापुर थारु विद्रोहको निर्ममतापूर्वक दमन गर्ने, संसदीय शासकीय प्रणाली कायम राख्ने, १० प्लस १ को मोडलमा प्रदेश सिमांकन हुन नदिने कार्यमा नेकपाको प्रत्यक्ष हात रहेको उनले भनेका छन्।