सल्यान – जिल्लाको बडागाउँ नजिकै जीप दुर्घटना भएको छ। दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। दुर्घटनामा परी ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका ४ का अन्दाजी ६० वर्षीया कृष्णादेवी परियार र सोही ठाउँ निवासी ५९ वर्षीया यगी थापा रहेको प्रहरीले जनाएको छ।
उनीहरुको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सल्यानको फलाबाँगबाट दाङ तुल्सीपुर जाँदै गरेको रा १ ज ४३२ नम्बरको जीप फलाबाँगको बडागाउँ नजिकै अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते हुने सबै त्रिवेणी गाउँपालिका– ४ फालाबाँगका स्थानीय हुन्। घाइतेको उपचार अञ्चल अस्पताल तुल्सीपुरमा भइरहेको छ। चालकको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।