एजेन्सी– २२ वर्ष अघि हराएका एकजना व्यक्ति (विलियम मोल्ड) को अवशेष गुगल म्याप्समार्फत फेला परेको छ। ति व्यक्तिको अवशेष डुबेको गाडीमा फेला परेको हो।
विलियम मोल्ड सन् १९९७ को नोभेम्बर ७ मा फ्लोरिडा राज्यको ल्यानटेनाबाट हराएका थिए। त्यतिबेला उनी ४० वर्षका थिए। एउटा नाइट क्लब गएका उनी घर फर्केनन्। लगत्तै प्रहरीले अनुसन्धान सुरु गरेपनि त्यो प्रभावकारी रूपमा अघि बढ्न सकेन।
यसै वर्षको अगस्ट महिनामा प्रहरीलाई वेलिङ्गटनको मुन बे सर्कलस्थित एउटा तालमा गाडी डुबेको अवस्थामा रहेको खबर आयो। गाडी पानीबाट निकालिएपछि त्यसमा मानव कङ्कालको अवशेष फेला र्पयो। त्यसको एक हप्तापछि उक्त अवशेष विलियम मोल्डको रहेको पहिचान भएको थियो।
सफल रूपमा छानबिन हुन नसकेका घटनाहरूको विवरण राख्ने चार्ली प्रोजेक्ट नाम गरेको एउटा अनलाइन डेटाबेसका अनुसार एकजना सम्पत्ति सर्वेक्षणकर्ताले गुगल अर्थको प्रयोग गरिरहेका बेला उक्त गाडी देखेका बीबीसीले जनाएको छ।
आश्चर्यजनक रूपमा गुगल अर्थको स्याटलाइट तस्बिरमा सन् २००७ देखि एउटा गाडी देखिएको थियो। तर सन् २०१९ सम्म त्यसलाई कसैले पनि याद नगरेको देखिन्छ, चार्ली प्रोजेक्टको रिपोर्टमा भनिएको छ।