काठमाडौं– नेपाल र भारतवीचको सीमा विवादमा अहिले उत्कर्षमा छ। भारतले हालै जारी गरेको राजनितिक नक्सामा नेपालको लिपुलेक कालापानी तथा लिम्पुयाधारालाई समेटिएको छ।
भारतको उक्त कदमप्रति नेपालमा विभिन्न स्तरबाट विरोध प्रदर्शन भइरहेको छ। नेपाल सरकारले तथा विभिन्न राजनितिक दलहरुले भारतले जारी गरेको नक्सामा आपत्ति जनाइसकेका छन्। चीनले भने नेपाल र भारतले वार्तामार्फत समस्याको समाधान गर्न सुझाव दिएको छ।
चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले बिहीबार पत्रकारसँग कुरा गर्दै कालापानी क्षेत्रको विवाद नेपाल र भारतले वार्ता र परामर्शका आधारमा टुंग्याउनु पर्ने बताएका छन्। नेपाल भारत सीमा विवाद चर्किरहेको बेला उत्तरी छिमेकी चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको समाचारहरु आइरहेका छन्। तर सिओयोलोङले उक्त कुराको खण्डन गरेका छन्। उनले चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्ने बताउँदै केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भन्ने कुरा आरोप आधारहीन रहेको बताए।
जनमानसमा के सत्य के गलत हो भ्रम पारेर जनताको ध्यान मोड्न केहि मिडियाहरुले गलत समाचार सम्प्रेषण गरेको उनले जानकारी दिए। सिओयोलोङले नेपाल र चीनले सन् २०६१ मा सीमा सन्धीमा हस्ताक्षर गरेको र सोही सन्धीका आधारमा सीमा तय भएको उल्लेख गरे।
उनले नेपाल–चीन सम्बन्धमा फाटो ल्याउने कुनै पनि प्रयास सफल नहुने पनि बताए। यसअघि भारतले जम्मु कस्मिरलाई दुई केन्द्र शासित क्षेत्र बनाउने निर्णय कार्यान्वयन गर्न भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई भारतमा देखाइएको थियो।
सोमबार संसदको राज्यव्यवस्था समितिमा नेपाली कांग्रेसका सांसदद्वय अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले चीनले पनि नेपाली सीमा मिचेकाले त्यसतर्फ पनि ध्यानाकर्षण हुनेपर्ने बताएका थिए।