काठमाडौँ, १४ माघ –निर्देशक तथा लेखक शंकर अधिकारीको चलचित्र ‘लव जोन’को छायाङ्कन सकिएको छ। बीजी बर्मा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रलाई ओमबहादुर कार्कीले निर्माण गरेका हुन्।
समाजमा रहेका विभिन्न समस्यालाई चलचित्रमा उतारिएको निर्माण पक्षको भनाइ छ। साथै, मायाको कुनै अवधि र सीमा हुँदैन भन्ने सन्देश यो चलचित्र दिने निर्देशक अधिकारीेले बताए।
नेपालका विभिन्न स्थान सोलु, जिरी, रामेछाप, काभ्रेपलाञ्चोक र काठमाडौँमा चलचित्रको छायाङ्कन गरिएको हो। यस चलचित्रमा राजन महर्जन, तृष्णा खड्का, डीबी लामा, विक्रम कार्की, प्रेरणा बोहोरा, रुबिना थापा, राजन श्रेष्ठ, राजु श्रेष्ठ, सुष्मा थिङ, कुमार कार्की, शर्मिला भुजेल, निमा लामा लगायतका कलाकारको अभिनय रहेको छ।
यस चलचित्रमा विक्रम कार्की र सरोज थापाको छायाङ्कन रहेको छ भने राजन महर्जन र सुरेश पाण्डेको नृत्य छ। चलचित्र ‘लव जोन’मा शंकर अधिकारी (घायल)को गीत र बाबलु गिरीको सङ्गीत रहेको छ। त्यस्तै बाबुल गिरी, नित्या शिवा र शम्भु रैकाको आवाज रहेको छ।चलचित्रमा शंकर अधिकारीकै लेखन तथा निर्देशन रहेको छ। आगामी नयाँ वर्षमा चलचित्र रिलिज गर्ने तयारी भइरहेको निर्माण पक्षले बताएको छ।