एजेन्सी- विभिन्न अमेरिकी स्वास्थ्य संस्थाबाट नागरिकको स्वास्थ्य सम्बन्धी लिएको विवरण दुरुपयोग गरेको आशंकामा गुगलमाथि छानबिन हुने भएको छ। अमेरिकाको डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले गुगलमाथि अनुसन्धान सुरु गर्न लागेको हो।
अमेरिकी समाचार संस्था वाल स्ट्रिट जर्नलले गुगलले स्वास्थ्य सम्बन्धी विवरण खरिदका लागि एसेन्सियनसँग सहमति गरेको खबर छापेपछि यो विवाद सतहमा आएको थियो।
एसेन्सियनले अमेरिकामा २६ सय अस्पतालहरु सञ्चालन गरिरहेको छ। गुगलले यसरी लिएको विवरण सम्बन्धित व्यक्तिलाई जानकारी नदिई प्रयोग गर्नसक्ने भन्दै कम्पनीको आलोचना भएको हो।
फाइनान्सियल टाइम्सले प्रकाशित गरेको समाचार अनुसार गुगलले वेबसाइटबाट पनि मानिसको स्वास्थ्य सम्बन्धी विवरण लिने गरेको गरेको आरोप छ। गुगलले भने यस्ता विवरण सुरक्षित रहेको दाबी गरेको छ।
गुगलले यो बिषयमा ब्लग पोष्ट लेखेर आफूले कानुनको पालना गर्ने र उक्त विवरणमा आफना सीमित कर्मचारीलाई मात्रै पहुँच दिएको भनि उल्लेख गरेको छ। गुगलले स्वास्थ्य सम्बन्धी उक्त तथ्यांकलाई कम्पनीको अन्य तथ्यंकसँग नमिसाइने दाबी गरेको छ।