नेपालगन्ज– बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रूपमा विस्तार गर्ने काम अहिले धमाधम भइरहेको छ। त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अगाडि बढाएपछि अहिले बढैयातालको मुहार पनि फेरिँदै गएको छ।
तालमा वनभोज रिसोर्ट, तालसम्म पुग्ने बाटो, खानेपानी, बिजुली बत्ती, दृश्यावलोकन स्तम्भ निर्माण भइसकेका छन्, भने थप संरचना निर्माणको काम पनि योजनामा परेको गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताएका छन्।
बढैयाताल बर्दियाको सबैभन्दा ठूलो तालका रूपमा रहेको छ। बाह्रै महिना तालमा पानी जम्मा भइरहने तालको मुख्य विशेषता हो। विभिन्न थरीका माछा, कमलको फूल, घाँसेमैदान, चराचुरुङ्गीको बासस्थलले ताललाई थप आकर्षक तथा रमणीय बनाएको छ। यसका साथै ताल क्षेत्रमा अरब सागरबाट चराहरु आउने भएकाले यसको आकर्षण बढेको छ। बढैयातालकै नामबाट गाउँपालिकाको नाम पनि बढैयाताल राखिएको अध्यक्ष श्रेष्ठले बताएका छन्।
केही वर्ष अघिसम्म तालमा ठेक्कामा माछापालन हुँदै आएको थियो। माछापालनले गर्दा तालको विकास पछि पर्दै गएको थियो। गाउँपालिकामा जनप्रतिनिधिहरु निवाचित भएर आएपछि अहिले तालको विकासले फड्को मारेको देखेर स्थानीयवासी पनि खुशी भएको बढैयागाउँका स्थानीयवासी मेहिलाल थारू बताउँछन्।
यो ताल गाउँपालिका–४ र ५ को बीचमा रहेको छ। ताल क्षेत्रमा थारू समुदायको बाक्लो बस्ती छ। थारू समुदायको पहिचानसँगै बढैयातालको इतिहास पनि जोडिएको छ। बढैयातालको विकाससँगै तालमा थारू सङ्ग्रहालय बनाउने योजनाले स्थानीयवासीको चासो झन् बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ।
रासस