एजेन्सी- अनुसन्धानकर्ताहरूको एक समूहले इन्टेलले उत्पादन गरेको कम्युटर चिपमा गम्भीर सुरक्षा कमजोरी फेला पारेका छन्। इन्टेलसहित जेनेभास्थित एसटी माइक्रो इलेक्ट्रोनिक्सले उत्पादन गरेको चिपमा यस्तो कमजोरी भेटिएको हो।
यो कमजोरीका कारण यी दुई कम्पनीले उत्पादन गरेका चिप प्रयोग भएका विश्वभरका ल्यापट, सर्भर, ट्याब्लेट र डेस्कटप प्रयोगकर्ता प्रभावित भएका छन्।
यो कमजोरीले चिपभित्र रहनुपर्ने क्रिप्टोग्राफिक कीले चोरी गर्न मद्दत गर्ने गरेको थाहा हुन आएको छ। चिपभित्र सुरक्षित रहनुपर्ने यो कीको चोरीले ह्याकरलाई डिभाइसको अपरेटिङ सिस्टम प्रभावित पार्न, डिजिटल हस्ताक्षर चोरी गर्न र ईन्क्रिप्ट गरिएको जानकारीमा समेत पहुँच दिन्थ्यो।
यो कमजोरी विगत १० वर्षदेखि रहिआएको प्रकाशित समाचारहरुमा जनाइएको छ। अहिले यो कमजोरी सुल्झिसकेको बताइएको छ। इन्टेलले ह्यासवेल प्रोसेसर सन् २०१३ मा उत्पादन गरेयता यही सफ्टवेयर प्रयोग गर्दै आएको छ।
यद्यपी यो चिपले विश्वमान्यता प्राप्त सुरक्षा सर्टि्फिकेट समेत प्राप्त गरेको छ। सुरक्षाका हिसाबले उत्कृष्ट मानिएको यो चिपमा वर्षौदेखिको सुरक्षा कमजोरी भेटिंदा अनुसन्धानकर्ताहरू समेत आश्चर्यचकित छन्।