बागलुङ– ताराखोला गाउँपालिका–४ छम्टुमा ‘ताराखोला बहुद्देश्यीय सामुदायिक रेम्बो ट्राउट घरबास ‘होमस्टे’ सञ्चालनमा ल्याइएको छ। घरबासको ‘होमस्टे’ बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गरे।
मन्त्री लम्सालले ग्रामीण पर्यटनको प्रवद्र्धनमा ‘होमस्टे’ले टेवा पुग्ने र समृद्धिको प्रमुख आधारका रुपमा पर्यटनलाई लिइएको उल्लेख गर्दै गण्डकी प्रदेशलाई पर्यटकीय केन्द्र बनाइने बताएको छ। छम्टुको सामुदायिक भवनसहित केही घरमा सञ्चालित ‘होमस्टे’मा २२ जना पाहुना राख्ने क्षमता छ।
‘होमस्टे’का लागि गण्डकी प्रदेश सरकारले रु १० लाख अनुदान उपलब्ध गराएको सञ्चालन समितिका अध्यक्ष पद्म खत्रीले बताएका छन्। उक्त बजेट पूर्वाधार तयारी, तालीम लगायतमा खर्च गरिएको छ। ‘होमस्टेमा ट्राउट माछा, स्थानीय कुखुरा, आलु, आटो, ढिँडोजस्ता परिकार खुवाउँछौँ’ अध्यक्ष खत्रीले भने।
छम्टुमा स्थानीय व्यवसायीेले ‘रेम्बो ट्राउट’ माछापालनसमेत गरेका छन्। गाउँले जनजीवन, खानपान, घुमफिर र संस्कृतिका हिसाबले ताराखोला उपयुक्त छ। ‘होमस्टे’ले ताराखोलाका अन्य पर्यटकीय गन्तव्यस्थलकोसमेत उजागर हुनेछ। प्राकृतिक स्रोतसाधन, रमणीय भूगोल, कला, संस्कृति, रहनसहन आदिले ताराखोला धनी छ। स्थानीय उत्पादनका हिसाबले पनि ताराखोला अगाडि छ।
यहाँको मुख्य उत्पादन आलु र भाँगो हो। यस्तै गाईघाटको झरना, डुँडेलेकलगायतका दर्जनौँ पर्यटकीय गन्तव्य यहीँ पर्छन्। ऐतिहासिक भुस पोल्ने, सिस्नो खोस्ने पर्व, असारे मेलाजस्ता परम्परा र संस्कृति ताराखोलामा प्रचलित छन्। नेपालमा ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनका लागि ‘होमस्टे’ प्रभावकारी मानिएको छ।
पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, मौलिक संस्कृति, पर्यटकीय क्षेत्रको घुमफिर ‘होमस्टे’का आकर्षण हुन्। यसअघि गाउँपालिकाको सहयोगमा वडा नं २ अर्गल र ५ मा ‘होमस्टे’ सञ्चालनमा आइसकेको छ। ‘होमस्टे’ सञ्चालनका लागि अघिल्लो आवमा रु पाँच लाखका दरले अनुदान उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले बताएका छन्।
यो वर्ष पनि क्षमता विस्तारका लागि थप बजेट उपलब्ध गराइने उनको भनाइ छ। पर्यटकीय सम्भावनायुक्त भएर पनि पूर्वाधार र प्रचारप्रसार अभावले ताराखोला ओझेलमा छ। व्यवस्थित सडक, पर्यटनमैत्री पूर्वाधार र गन्तव्यस्थलको पहिचान गर्नसके ताराखोलाले पर्यटनमा फड्को मार्ने देखिन्छ। बागलुङ सदरमुकामदेखि ५० किमी मोटर यात्रामा ताराखोला पुगिन्छ। (रासस)