काठमाडौं– कतारमा हुने फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ छनोटअन्तर्गात कुवेतविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ। प्रमुख प्रशिक्षक योहान कालिनले उक्त प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा गरेका हुन्।
घोषित नेपाली टिमको गोलकिपरमा किरणकुमार लिम्बु, विशेक कुथु, विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा सरोज दाहाल, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन आर्याल, दिनेश राजवंशी, अजित भण्डारी, रञ्जित धिमाल रहेका छन्।
त्यस्तै मिडफिल्डरमा सुनील बल, अञ्जन विष्ट, विक्रम लामा, रविशंकर पासवान, मिक्छेन तामाङ, रोहित चन्द, सुजल श्रेष्ठ, सन्तोष तामाङ, तेज तामाङलाई समेटिएको छ भने फरवार्डमा भारत खवास, नवयुग श्रेष्ठ, विमल घर्तीमगर, अभिषेक रिजालले स्थान बनाएका छन्।
नेपाल र कुवेतबीचको खेल भुटानको राजधानी थिम्पुमा मंसिर ३ गते हुनेछ। नेपालले घरेलु मैदानमा खेल्न पाउने खेल दशरथ रंगशाला निर्माण सम्पन्न नभएको कारण घुटानमा खेलाइने तय भएको हो। यसअघि कुवेतले घरेलु मैदानमा नेपाललाई ७–० गोलले पराजित गरेको थियो।
छनोटमा नेपालले अशिलेसम्म चार खेल खेलेको छ। जसमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको छ। पहिलो खेलमा कुवेतसँग ७–० ले हारेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो। तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग ५–० को र चौथो खेलमा जोर्डनसँग ३–० को हार बेहोरेको थियो। नेपाल ३ अंकका साथ समूहको चौथो स्थानमा छ।