भिमदत्तनगर– कञ्चनपुरकै पुरानो बेलौरी छोटी भन्सार कार्यालय स्तरोन्नति गरी मूल भन्सार बनाउन माथिल्ला निकायमा पहल भइरहेको छ।
जिल्लाको दक्षिण क्षेत्रमा रहेको उक्त छोटी भन्सार कार्यालय सहयोगीका भरमा चलेको छ।कैलाली भन्सार कार्यालय धनगढीको मातहत रहेको सो छोटी भन्सार कार्यालयमा हरेक महिना कर्मचारी फेबदल हुने गरेका छन्। कारोवारको प्रकृतिअनुसार नासुस्तरका कर्मचारी छोटी भन्सारमा खटाइन्छ। कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ईश्वरी अर्यालले भने, ‘पारी (भारत)मा कष्टम भए मात्रै हामीले पनि छोटी भन्सार स्तरोन्नति गर्ने हो।
’स्थानीयवासीको मागअनुसार बेलौरी भन्सारलाई स्तरोन्नति गर्न पहल भइरहेको र ढिलोचाँडो मूल भन्सार हुने प्रमुख भन्सार अधिकृत अर्यालको भनाइ छ। ‘अहिले घरायसी सामग्रीको मात्रै बढी आयात त्यहाँबाट हुन्छ’, उनले भने, ‘भन्सार छलेर पनि चोरी पैठारीमा सामान आयात हुने गरेको खबर आउँछ।’
कार्यालय सहयोगी तेजबहादुर मडैले सुरक्षा व्यवस्था नहुँदा माथिल्लो तहका कर्मचारी बस्न अटेर गर्ने गरेका बताएका छन्। ‘राजश्व उठाउन पनि यहाँ सजिलो विषय छैन’, मडैले भने, ‘सामान धेरै ल्याउन राजश्व थोरैको मात्रै बझाउने प्रवृत्ति छ।’ भन्सार कार्यालय सुरक्षार्थ सशस्त्र प्रहरी बल बिहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म मात्रै खटिने गरेका छन्।
कार्यालयले गत आर्थिक वर्षमा रु दुई लाख ५० हजार राजश्व सङ्कलन गरेको मडैले जानकारी दिएका छन्। उनले चालू आर्थिक वर्षको असोज मसान्तसम्म रु ५५ हजार राजश्व सङ्कलन भएको बताएका छन्। (रासस)