चीप्लेढुङ्गा – २६ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पार्दि्स्थित फिष्टेल एकेडेमीले आज नवनिर्मित विद्यालय भवनको शिलान्यास गरेको छ। पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उक्त विद्यालयको भवनको शिलान्यास गरेका छन्। प्रमुख जिसीले गुणस्तरीय शिक्षाका लागि व्यवस्थित पूर्वाधारको आवश्यकता औँल्याएको छ।
प्रतिष्पर्धाको समयमा गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने भन्दै शिक्षामा निजी क्षेत्रको लगानी राम्रो भएकाले यसलाई नतिजामुखी बताउनुपर्ने बताएका छन्। सरकारको तीनखम्बे नीतिमा निजी क्षेत्र पनि रहेकाले निजी क्षेत्रले शिक्षामा गरेको लगानीलाई परिणाममुखी बनाउनुपर्नेमा उनको भनाइ थियो।
समृद्ध नेपाल निर्माणमा शिक्षाको महत्वपूर्ण भूमिका हुने भएकाले सबै जनता र बालबालिकालाई सबैभन्दा पहिले शिक्षाको पहुँचभित्र ल्याउने सरकारको प्राथमिकता रहेको बताएका छन्। एकेडेमीका संस्थापक एवं निर्देशक चिनु रानाभाटले जीवनको महत्वपूर्ण समय शिक्षा क्षेत्रमा बिताएकाले अझ यस क्षेत्रलाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ विद्यालय भवन बनाउन लागेको जानकारी दिएका छन्।
१८ रोपनी क्षेत्रफलमा भूकम्प प्रतिरोधात्मक बहुउद्देश्यीय भवन, ल्याब, जुनियर सिनियर विद्यार्थीका लागि छुट्टाछुट्टै खेलकूद मैदान, अण्डर ग्राउण्ड पार्किङ, बहुउद्देश्यीय डिजिटल हल, अभिभावक शिक्षक मिटिङ हलसहित अन्तरराष्ट्रिय मापदण्डको विद्यालय बनाइने उनले बताएका छन्।
अत्याधुनिक भवनमा पानीको फोहोरासहितको हरियाली बगैँचाले विद्यालयलाई थप मनमोहक बनाउने रानाभाटले जानकारी दिए। माछापुच्छ्रे हिमालको काखमा निर्मित अन्तरराष्ट्रिय मापदण्डसहितको विद्यालयको भौतिक संरचनाले विद्यार्थी र अभिभावकलाई फरक अनुभव र गर्व गर्ने वातावरण विद्यालयले प्रदान विद्यालयका प्राचार्य बुद्धिमोहन पौडेलले बताएका छन्।
हाल म्यानेजमेन्ट सङ्कायमा मात्रै पढाइ हुँदै आएको विद्यालयमा भवन निर्माणसँगै विज्ञान सङ्काय र अन्य प्राविधिक विषयको समेत अध्यापन गराइने कार्यक्रम रहेको पौडेलले जानकारी दिए। हाल विद्यालयमा ७६ जनशक्ति रहेको छ भने एक हजार १०० विद्यार्थीले अध्ययन गरिहेका छन्।
राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ, सरस्वती गुरुङजस्ता खेलाडी र मुस्कान रानाभाटजस्ता गायिकासमेत उत्पादन गर्न सफल स्कूलले पढाइको अलावा अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई उत्तिकै सक्रिय सहभागिता गराउँदै आएको छ। कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वदेखि स्थानीयजन प्रतिनिधि र सामाजिक व्यक्तित्व एवं अभिभावकको सहभागिता रहेको थियो। कार्यक्रममा कक्षा १० कि सदीक्षा आचार्य र शिक्षक भरत खड्काले विद्यालयको बारेमा आफ्नो धारणा राखेको थियो। (रासस)