काठमाडाैं_ नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउनको लागि स्वतन्त्र नागरिक समाजले आगामी मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह गर्ने भएको छ।
उक्त सत्याग्रहमा समाजका संयोजक हेमविक्रम सिलवाल बस्ने भएका हुन्। सत्याग्रह विहान ८ बजे काठमाडौंको शान्तिवाटिकामा सुरु हुनेछ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजले खबरदारीको कारण सरकार सुध्रिने कुनै लक्षण नदेखिएको र जनताको आवाजलाई बेवास्ता गरिएको आरोप लगाएको छ।
समाजद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘हाम्रो देशलाई यस भयानक आर्थिक–राजनीतिक संकटको दलदल र असफल राष्ट्र हुनबाट समयमै जोगाउन हामी यही २०७६ साल मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह गर्न बाध्य हुनुको विकल्प नरहेको कुरा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई जानकारी दिँए।
साथै स्वतन्त्र नागरिक समाज सारा स्वदेश तथा विदेशमा रहनु भएका आम नेपाली जनतालाई यो देशको धर्म, संस्कृति, मूल्य मान्यता अनि परम्परा जोगाउन, देशमा संवैधानिक राजतन्त्र तथा हिन्दू अधिराज्य स्थापना गर्न पहिला सबै नेपाली भएर सोचौं र यस सत्याग्रहमा बृहत्त सहभागी जनाई आफ्नो दायित्व निर्वाह गरी सफल पारिदिनु हुन हार्दिृक अनुरोध तथा आह्वान गर्दछौं।’
समाजले आफ्नो स्थापनाकालदेखि नै जनताको मौलिक हकहितका कुरा, भ्रष्टाचार विरोधी, प्रेस तथा वाक स्वतन्त्रता, गरिबी निवारण, देशमा राजनीतिक स्थिरता र राष्ट्रिय एकताको लागि राजसंस्था र नेपाललाई हिन्दू अधिराज्य स्थापना गर्ने सम्बन्धमा आवाज उठाई आएको जनाएको छ।
नेपाली जनताले लगभग ७० वर्ष प्रजातान्त्रिक आन्दोनलमा समय व्यतित गरेको उल्लेख गर्दै समाजले यो अवधिमा जनताले केही पनि उपलब्धि हााँसिल गर्न नसकेको दाबी गरेको छ। नागरिकको तर्फबाट हेर्दा जनताले भएको पनि गुमाएको समाजको ठहर छ।
समाजले थप भनेको छ,‘आज देश भ्रष्टाचार, दण्डहीनता, कूटनीतिक रणभूमीको दलदलमा फस्दै गएको छ। प्रजातन्त्र भनेपनि हाम्रो देशमा निषेधको राजनीति मौलायो। मानव सभ्यताको सृष्टिकालदेखि नै १६ औं शताब्दी होस वा १८ औं शताब्दीकालमा विश्व साम्राज्यवादीहरुको हैकमबाद विस्तार हुँदा विश्वलाई उपनिवेश बनाउँदा पनि नेपाल एक स्वतन्त्र, सार्वभौम, स्वाधिन र अभिभाज्य राष्ट्र थियो।
अहलिे हामी २१ औं शताब्दीमा आएर आफ्नो कला, संस्कृति, मूल्य र मान्यतालाई बिर्सने र समाजलाई धर्मनिरपेक्षताको नाममा नाष्तिक बनाउँदै लैजाने र भविष्यमा मूलुकको विश्व मानचित्रमा नेपालको नाम निशानै मेटाउने खालका अलोकतान्त्रिक गतिविधि हुनु हामी नेपाली आफैंमा विवेकहीनता र लाजशर्मको कुरा हो।’