मोरङ–कानेपोखरीमा भाइहरुको कुटाईबाट दिदीको मृत्यु भएको छ। मोरङको कानेपोखरी गाउँपालिका १ होक्लाबारीमा सीता सोरेनलाई उनका दुई भाईले कुटपिट गर्दा मृत्यु भएको हो।
सीताका भाइहरु ५१ वर्षीय विजय र ३२ वर्षीय वीरेन्द्र किस्कुले कुटपिट गरेको प्रहरीले जनाएको छ। शुक्रबार अपरान्ह ५ बजे उनीहरुले जग्गाको विषयमा विवाद हुँदा दिदी सीता सोरेनलाई कुटपिट गरेका हुन्।
भाइहरुको कुटपिटबाट घाइते भएकी सीतालाई उपचारको लागि विराट नर्सिङ होम विराटनगर ल्याइएको थियो। उनको उपचारको क्रममा राती १० बजे मृत्यु भएको हो । प्रहरीले कुटपिट गर्ने विजय र वीरेन्द्रलाई नियन्त्रणमा लिएको छ।