एजेन्सी– अर्जेन्टिनाले ब्राजिललाई हराउँदै सुपरक्लासिको उपाधि हात पारेको छ। अर्जेन्टिनाको जितमा एकमात्र निर्णायक गोल कप्तान लियोनल मेस्सीले गरेका हुन्
शुक्रबार बेलुका साउदी अरेबियामा भएको खेल प्रतिस्पर्धात्मक बनेको थियो। खेलको दशौं मिनेटमा नै ब्राजिलले अग्रता बनाउने अवसर गुमाएको थियो। फरवार्ड ग्याब्रिएल जेससलाई जर्मन पेजेलाले लडाएपछि रेफ्रीले ब्राजिलको पक्षमा पेनाल्टी दिएका थिए। तर जेसस बललाई पोष्टको दिशा दिनबाट चुके।
त्यस्तै खेलको १३ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो। एलेक्स स्यान्ड्रोले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। तर मेस्सीको पेनाल्टी प्रहार गोलरक्षक एलीसनले बचाए। मेस्सीले रिबाउन्डमा गोल गरेका थिए। उक्त गोल नै खेलको लागि निर्णायक बन्यो।
ब्राजिलले त्यसपछि खेलमा फर्कने प्रयास गरेपनि फिनिसिङमा चुक्दा खेलमा फर्कन सकेन। मेस्सी झन्डै चार महिनापछि राष्ट्रिय टिममा फर्किएका थिए।