भोजपुर– जिल्लाको षडानन्द नगरपालिका–७ मा रहेको टेलिकमको टावरमा जडान गरिएका ल्याण्डलाइन र एडिएसएलको ब्याट्रीमा एक समस्या आएको छ। विद्युत् लाइन जानेबित्तिकै सेवा अवरुद्ध भएपछि पटकपटक समस्याका बारेमा जानकारी दिँदा पनि टेलिकमले कुनै प्रयास नगरेको जिल्लावासीको गुनासो छ।
फोन तथा इन्टरनेटको सेवा अवरुद्ध हुने बित्तिकै दैनिक काममा समेत अवरोध हुने गरेको छ। इन्टरनेट सेवा अवरुद्ध हुँदा लोक सेवा, शिक्षक सेवा, डिभी फाराम भर्नेलगायतका सेवा प्रदान गर्न समस्या आएको सुवास ट्रेड लिंकका सञ्चालक सुवास कठेतले बताए। जिल्लावासीले इन्टरनेट र फोन सेवा नियमित नहुँदा अनावश्यक शुल्क तिर्नु परेको बताएका छन्। चाहेको समयमा सेवा उपभोग गर्न नपाउँदा पनि सेवा शुल्क तिर्नुपरेको होटल व्यवसायी पवन राईको गुनासो छ।
नेपाल टेलिकम खाँदबारीका प्रमुख राधारमण भट्टराई प्राविधिक काम सबै धनकुटा टेलिकमले हेर्ने भएकाले धनकुटामै सम्पर्क गर्नुपर्ने भन्दै जिम्मेवारीबाट पन्छिन खोजेका छन्। नेपाल टेलिकम धनकुटाले भने समस्याका बारेमा समयमा जानकारी नआएकाले यो समस्या समाधान गर्न नसकिएको बताएको छ।
विराटनगर टेलिकम कार्यालयसँग समन्वय गरेर तीन÷चार दिनभित्रमै ब्याट्री व्यवस्थापन गरेर समस्या समाधान गरिने धनकुटा टेलिकमका प्रमुख ज्ञाननाथ सापकोटाले जानकारी दिए। चार वर्षअघि सेवा जडान गरिएको जिल्लामा ९६ वटा ल्याण्डलाइन र एडिएसएलको पोष्ट जडान गरिएको छ। रासस