काठमाडौं–चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ‘तिम्रो घरको वरिपरी’ बोलको गीतको छायांकन भर्खरै मात्र सकिएको छ। करिब ७ दिन लगाएर यसको टिमले चलचित्रको छायांकन नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरेको हो। जसमा सुन्दर दृश्यहरु कैद गरिएको छ।
अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ। गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन छ। यो गीतमा चलचित्रका मुख्य कलाकारहरु नायिका पूजा शर्मा र नायक पल शाह निकै रोमान्टिक शैलीमा देखिएका छन्। चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन्। यो गीतका लागि मात्र करिब ५ सय कोरसलाई समावेश गरिएको निर्देशक थापाले जानकारी दिए। नेपाली चलचित्रको गीतमा यती धेरै संख्यामा कोरस प्रयोग गरिएको संभवत पहिलो पटक हो।
चलचित्रमा दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको पनि अभिनय छ। चलचित्रलाई शिवम् अधिकारीले लेखेका हुन्। ‘म यस्तो गीत गाउँछु’ बक्स अफिसमा सुपरहिट भएको चलचित्र हो। त्यसैको सिरिजको रुपमा निर्माण भएको यो चलचित्रले पनि बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा निर्माणपक्षको लिएको छ। गीतको बिषयमा निर्देशक थापाले भने,‘हामीले चलचित्रका कुनै पनि गीत तथा दृश्यमा संझौता गरेका छैनौ। गीतले मागेको लोकेशन अनुसार नै भिडियो खिचिएको छ।’
फागूणको २३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ। चलचित्रको पहिलो प्रचार सामाग्रीका रुपमा यो गीतलाई सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षको रहेको छ। यो गीत छायांकनका लागि केवल तामाङले स्थानिय व्यवस्थापनको जिम्मा लिएका थिए। चलचित्रका निर्माण नियन्त्रक सुरज आचार्य र सुदिप ढकाल हुन्। यो चलचित्रलाई काठमाण्डौमा रिच इन्टरटेन्मेन्ट र जीजीए गु्रप र काठमाण्डौ बाहिर एफडी कम्पनीले वितरण गर्नेछ। सांगीतिक प्रेम कथामा यो चलचित्र निर्माण भएको छ।
चलचित्रको छायांकन सुरु भएको करिब ४५ दिन भएको छ। तर, अझै छायांकन सक्न् १५ दिन लाग्ने निर्माणपक्षले बताएको छ। यो चलचित्रलाई सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो। सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राइ सह–निर्माताको रुपमा रहेका छन्। रिलिज मिति समेत तोकिएको सिनेमा छायाङ्कनको शुरुवात देखि नै दर्शकको नजरमा परिसकेको छ।