बनेपा– सञ्चार रजिष्ट्रार प्रदेश नं ३ को कार्यालयले धुलिखेलमा आयोजना गरिएको ‘पत्रकारितामा नवीनतम प्रयोग प्रवद्र्धनका लागि मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालीम’ शनिबार सम्पन्न भएको छ।
प्रदेश नं ३ का काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका पत्रकारको सहभागिता रहेको तालीममा मोबाइलबाट नै भिडियो खिच्ने, अडियो रेकर्ड गर्ने, इडिट गर्ने र मिक्सिङ गरी कार्यक्रम उत्पादन गर्ने तालीम दिएको हो।
सो तालीम समापन कार्यक्रममा रामेछापका सहभागी मञ्जु उप्रेतीले तालीमबाट धेरै राम्रो ज्ञान लिन पाएको बताउनुभयो। दैनिक गर्ने काममा मोबाइल धेरै उपयोगी हुन्छ भन्ने कुरालाई व्यावहारिकरूपमा प्रयोगमा ल्याई पेशालाई थप जिम्मेवार र दक्ष बनाउनका लागि तालीमले सहयोग पु¥याएको उहाँले बताउनुभयो। अर्का सहभागी काभ्रेपलाञ्चोकका अञ्जली तामाङले तालीमले पेशामा थप ऊर्जा थपिदिएको बताए। पहिला सामान्यरूपमा भिडियो इडिटिङ र रेकर्डिङका लागि काठमाडौँसम्म खर्च गरी धाएर सिकेको भए पनि खासै प्रगति गर्न नसकेको अवस्थामा जिल्लामै बसेर सो सम्बन्धी ज्ञान हासिल गर्दै पत्रकारिता पेशामा अर्को मनोबल बढाएको उनको भनाइ छ।
कार्यक्रममा प्रदेश नं ३ का सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारिताको दैनिक काममा मोबाइल प्रयोग हुन थालेपछि पत्रकारलाई नयाँ प्रविधि र ज्ञान सीपको आवश्यक्ता पूर्ति गर्न तालीम आयोजना गरेको बताए।
तालीममा जिल्लामा रहेर रेडियो, टेलिभिजन, अनलाइन पत्रकारितामा सक्रिय २० पत्रकारको सहभागिता रहेको थियो। रासस