फाइल फाेटाे
दाङ– दाङको राप्ती गाउँपालिका–२ स्थित आदर्श नमूना माविको दृष्टिविहीन छात्रावास निर्माणका लागि विदेशबाट सहयोग प्राप्त भएको छ।
छात्रावास जीर्ण हुँदा दृष्टिविहीन विद्यार्थीलाई पठनपाठनमा असहज हुने गरेको थियो। राप्ती समाज जापानको सहयोगमा सङ्कलन भएको रु ४१ हजार ४ सय ४० विद्यालयलाई हस्तान्तरण गरिएको हो।
पूर्व्विद्यार्थी तुलसीराम पोख्रेलको पहलमा तथा संस्थाका अध्यक्ष युवराज रेग्मीको सक्रितामा सहयोग सङ्कलन गरी उपलब्ध गराइएको हो। उक्त रकम पोख्रेलले विद्यालयका प्रधानाध्यापक किरण पोखरेल र दृष्टिविहीन आवास निर्माण समितिका संयोजक वासुदेव न्यौपानेलाई हस्तान्तरण गरिएको हो।
सरकारले विशेष शिक्षाअन्तर्गत दाङको उक्त विद्यालयमा दृष्टिविहीन विद्यार्थीलाई पठनपाठन गराउन थाले पनि उचित पूर्वाधारतर्फ ध्यान नदिएको विद्यालयका प्रधानाध्यापक किरण पोखरेलले बताएका छन्। उनका अनुसार अहिले सुरक्षित भवन नहुँदा जीर्ण भवनमै विद्यार्थी राख्न बाध्य भएको उनको भनाइ छ।
‘भवन निकै जीर्ण छ’, उनले भने, ‘बर्सादमा पानी चुहिन्छ, भित्रै सर्प, भ्यागुता हिँड्छन्।’ अहिले उक्त विद्यालयमा कक्षा १२ सम्म दृष्टिविहीन विद्यार्थीका लागि पढाइ हुने उनले बताएका छन्। उनका अनुसार अहिले आठ केटी र पाँचजना केटा गरी १३ जना दृष्टिविहीन विद्यार्थीले अध्ययन गरिरहेका छन्।
एउटा जीर्ण भवनमा उनीहरुलाई राखिएको छ। विसं २०५२ देखि पढाइ शुरु भएको दृष्टिविहीन कक्षामा अहिले दुईजना शिक्षक कार्यरत छन्। दृष्टिविहीन ती विद्यार्थीहरु शारीरिक हिसाबले कमजोर भएकाले उनीहरुको आवास सुरक्षित हुनुपर्ने माग पहिलेदेखि उठ्दै आएको हो।
अहिले करीब ४० वर्ष पुरानो जीर्ण भवनमा ती विद्यार्थीलाई राखिएको छ। भित्र छिर्दा नै भत्किने डरले हत्तपत्त बाहिर निस्किनुपर्ने अवस्था छ तर दृष्टिविहीनलाई आफूहरू कस्तो भवनमा बसिरहेका छौँ भन्ने कुरा थाहा छैन। एक दृष्टिविहीन विद्यार्थीले भने, ‘हामीले आँखा देख्दैनौँ, कस्तो भवनमा बसिरहेका छौँ, हामीलाई नै थाहा छैन।’
पलङ पनि जीर्र्ण अवस्थामा छन्। काम चलाउनमात्रै ती पलङ राखिएका छन् । विद्यार्थीहरु सुतिरहेको अवस्थामा कतिबेला ती भाँचिन्छन् भन्ने त्रास छ। यस्तो अवस्था देखेपछि सोही विद्यालयमा अध्ययन गरेर विभिन्न पेशा–व्यवसायमा लागेका पूर्व विद्यार्थीहरुको सक्रियतामा भवन निर्माणको शुरुआत भएको छ।
गएको वर्षको दशैँको घटस्थापनाको साइत पारेर शिलान्यास गरिएको भवन निर्माणको काम जारी छ। करिब ४० वर्ष पुरानो भवनमा दृष्टिविहीन विद्यार्थी रात–दिन कटाउन बाध्य भएको भन्दै चारकोठे भवन निर्माण गर्न लागिएको उनले बताएका छन्। एउटा कोठा छात्र, एउटा कोठा छात्रा, एउटा सभाहल र एउटा भान्छाका लागि प्रयोग गर्ने गरी भवन निर्माण गर्न लागिएको हो।
शौचालय, बाथरुम पनि निर्माण हुनेछन्। अहिले पूर्व्विद्यार्थी थप आर्थिक रकम सङ्कलन गर्न लागिपरेको समेत उनले बताएका छन्। न्यौपानेसँगै उक्त विद्यालयमा अध्ययन गरी हाल जापानमा रहेका वीरेन्द्र केसीलगायतका पूर्व्विद्यार्थीहरुको सक्रियतामा भवन निर्माण शुरु भएको हो।
दृष्टिविहीन विद्यार्थीहरु आफैँमा शारीरिक हिसाबले कमजोर हुने भन्दै उनीहरुको आवास व्यवस्थित र सहज हुनुपर्ने हेतुले यस्तो कार्य अघि बढाएको उनको भनाइ छ। दृष्टिबिहीनका लागि कम्प्युटर छैनन्।
पटक–पटक दृष्टिविहीन विद्यार्थीहरुले आफूहरुले प्रयोग गर्ने खालका कम्प्युटर ल्याइदिन माग गरे पनि उनीहरुका लागि कम्प्युटर ल्याउन सकिएको छैन। ‘विद्यार्थीहरुले कम्प्युटरको माग गरिरहेका छन, उनले भने, ‘तर कम्प्युटर ल्याउन सकिएको छैन। (रासस)