काठमाडौं–नायक अनमोल केसी अहिलेका सर्वाधिक रुचाईएका नायक हुन्। चलचित्र ‘ए मेरो हजुर ३’ रिलिज भएको ७ महिनापछि नायक अनमोल केसीले यसैको चौथो सिरिज साइन गरे।
‘ए मेरो हजुर ३’ रिलिजपछि अनमोलको हातमा चलचित्रको अफर खुबै गएका थिए। एकपछि अर्को चलचित्र रिजेक्ट गरेका अनमोलले आफ्नै घरको चलचित्र ‘एन्टी हिरो’ का लागि तयारी पनि थालेका थिए। तर, यो बिचमा उनले फेरि ‘धुपौरे’ नामक चलचित्र साइन गरेका थिए।
यो चलचित्रका लागि अनमोल वर्कशपमा पनि निकै व्यस्त भए। यतिसम्म कि, आफ्नै घरको चलचित्रको लागि लोकेशन हेर्न ननिस्कने अनमोल यो चलचित्रका लागि लोकेशन हन्टिङ गर्न पनि पुगे। धेरैलाई लागेको थियो, अनमोल ‘धुपौरे’का लागि गम्भिर छन्। तर, केही हप्ता अगाडि मात्र अनमोलले ‘धुपौरे’ छाडेको खबर सार्वजनिक भयो। यो कुराले सबैको मनमा एउटा प्रश्न उब्जेको छ त्यसो किन गरेत अनमोलले? अनमोलले भने चलचित्र छाडेको नभई छायांकन केही पछि सार्न आग्रह गरेको बताउँदै आएका छन्।
तर, कात्तिकको अन्तिम दिन उनले दर्शक र मिडियालाई सरप्राइज दिदै ‘ए मेरो हजुर ४’ साइन गरे। हातमा आएका केही चलचित्र र साइन गरिसकेको ‘धुपौरे’ छाडेर अनमोल किन ‘ए मेरो हजुर’को चौथो सिरिजमै लोभिए त?