एजेन्सी–श्रीलंकाका पूर्व युद्धकालीन प्रतिरक्षा प्रमुख देशको राष्ट्रप्रमुख हुने लगभग निश्चित भएको छ। गोताबाया राजपक्ष श्रीलंकाको भावी राष्ट्रपति हुने निश्चित भएको हो। गएको अप्रिल महिनामा २५० जना भन्दा बढी नागरिक बम विस्फोटमा मारिएपछि पहिलो पटक शनिबार निर्वाचन भएको हो।
राष्ट्रपति निर्वाचनका लागि कूल ३५ उमेदवार मैदानमा खडा थिए। सन् २००९मा दशकौं लामो गृहयुद्ध समाप्त भएपछिको यो तेस्रो निर्वाचन हो। राष्ट्रपति पदको दौडमा अग्रपंतिमा रहेका दुई जना मध्ये राजपक्ष एक उमेदवार हुन्। अर्का उमेदवार सजीथ प्रेमदासा हुन्।
अहिलेका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना निर्वाचनमा प्रतिस्पर्धी थिएनन्। इस्टर सन्डे बम विस्फोटका कारण उनी आलोचनामा पर्दै आएका थिए। इश्लामिक स्टेट समूहले त्यहाँ आक्रमण गरेको थियो। सरकारले पछि गुप्तचरी सेवामा ठूलो ‘ल्याप्स’ भएको जनाएको थियो। भारतीय सुरक्षा निकायले त्यस सम्बन्धी सूचना पहिल्यै दिएपनि त्यस अनुसार काम नगरेको आरोप सरकारमाथि थियो।
त्यहाँको निर्वाचन आयोगले जनाए अनुसार मतगणनाका क्रममा राजपक्षले ४८ दशमलब २ प्रतिशत पाएका छन् भने प्रेमदासाले ४५ दशमलब ३ प्रतिशत मत पाएका छन्। राजपक्षका प्रवक्ताले राजपक्ष ५३ वा ५४ प्रतिशत मतले जित्ने निश्चित भएको जनाएका छन्।
प्रेमदासाले राजपक्षलाई बधाई दिइसकेको एएफपीले जनाएको छ। औपचारीक घोषणा अपरान्ह ४ बजे हुने जनाइएको छ। (बीबीसी)