तस्विरः सेताेपाटीबाट
काठमाडौं — प्रहरीले काठमाडौंबाट ३६ लाख रुपैयाँ रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बेतिया, जोगपट्टी थानाका ५७ वर्षीय सत्यनारायण प्रसाद रहेका छन्। कुलेश्वरमा डेरा गरी बस्ने उनले भारतीय नोट र हुण्डी कारोबार गर्ने गरेको सूचना पाएपछि बृत्तको टोली खोजीमा गएको थियो।
प्रसादलाई डेराबाटै उक्त रकमसहित नियन्त्रणमा लिइएको बृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए। कुँवरका अनुसार उनको साथबाट ३७ लाख पाँच हजार बराबरको विभिन्न बैंकका ६ थान चेक, १ लाख १९ हजार रुपैयाँ भारु, विभिन्न बैंकका ६ थान चेकबुक र मोबाइल बरामद भएको छ।
प्रसादलाई रावश्व अनुसन्धान विभागमा पठाउने प्रहरीको तयारी छ। डिएसपी कुँवरका अनुसार उनी तीस वर्षदेखि नेपालमा बस्दै आएको थाहा भएको छ। ‘भारतीय नोटको गैरकानुनी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी उनको कोठामा पुगेको थियो,’ कुँवरले भने, ‘भारतीय नोटसँगै हुण्डीको रकम पनि फेला पर्यो।’