एजेन्सी–इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार ४० व्यक्ति पक्राउ परेका छन्। इरानी समाचार संस्था इस्नाले जनाए अनुसार शनिबार भएको विरोध प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।
प्रदर्शनका क्रममा अरु केही घाइते पनि भएको जनाएको छ। अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दीका साथै तेल निर्यातमा प्रतिबन्ध लगाएपछि इरानी अर्थ व्यवस्था संकटमा परेको छ।
इरान सरकारले हरेक महिना पहिलो ६० लिटरसम्म पेट्रोल खरीद गर्दा ५० प्रतिशत र सोभन्दा बढी पेट्रोल खरिद गर्दा ३०० प्रतिशत मूल्यवृद्धि गर्ने घोषणाले गर्दा प्रदर्शनकारीले उग्र लिएको हो।
इरानी राष्ट्रपति हसन रौहानीले शनिबार झण्डै ७५ प्रतिशत इरानी जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट संकलन हुने रकम जनतालाई नै वितरण गरिने जानकारी दिनु भएको थियो।
रौहानीले गत वर्ष डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने प्रयास गर्नुभएको थियो, तर सर्वसाधारणको विरोधका कारण संसदले यो प्रस्तावलाई अस्वीकृत गरेको थियो। आगामी फेब्रुअरीमा संसदीय निर्वाचन हुने तय भइसकेका बेला यो मूल्यवृद्धि गरिएको हो।