काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)का सबै खेलको प्रत्यक्ष प्रसारण गर्ने जिम्मा भारतीय कम्पनी नक्षत्र न्यूज (एनके) मिडियालाई दिइएको छ।
मंसिर १५ बाट शुरु हुने सागको मिडिया अधिकार भारतीय कम्पनी एनकेले किनेको हो। प्रत्यक्ष प्रसारण गर्ने विषयमा राष्ट्रिय खेलकुद खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी) र एनके मिडियाबीच सम्झौता भएको बताइएको छ। सम्झौताअनुसार एनकेले राखेपलाई ८ करोड रुपैयाँ दिनेछ।
आइतबार आयोजित कार्यक्रममा राखेपका तर्फबाट सदस्य सचिव रमेशकुमार सिलवाल, एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ, एनकेका प्रभात रन्जन मल्लिक र फिस्कल एजेन्टका प्रियानाथ चतुराजोपाध्यबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
उक्त सम्झौताअनुसार एनके मिडियाले २७ वटै खेलको प्रत्यक्ष प्रसारण गर्नुपर्नेछ। प्रत्यक्ष प्रसारणका लागि प्राप्त हुने विज्ञापन को रकम पनि राखेपले नै पाउनेछ। सागलाई अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्ने जिम्मा भने फिस्कल एजेन्टलाई दिइएको छ।