काठमाडौं–नेपालकै लोकप्रिय लोक ब्याण्ड नेपथ्यले श्रृङ्खलावद्ध प्रस्तुतिसहित अस्ट्रेलिया यात्रामा निस्किने भएको छ। अस्ट्रेलिया बसोबास गर्दै आएका नेपालीहरुको चाहना र प्राथमिकताको सम्मान गर्दै नेपथ्यले केही वर्षयता लगातार श्रृङ्खलावद्ध प्रस्तुति सहित कन्सर्ट आयोजना यात्रा गर्दै आएको छ।
सन् २००९ बाट सुरु भएको यात्राको यो चौथो श्रृङ्खला हो। यसपटक नेपथ्यको भ्रमण टोलीमा छ जना ब्याण्डका सदस्य हुनेछन्, भने उत्तीकै संङ्ख्यामा प्राविधिक एवम् व्यवस्थापन गरी १२ सदस्यीय रहने जनाइएको छ। केही दशकयता अस्ट्रेलिया, नेपाली विद्यार्थीहरुको अध्ययन गर्ने मुख्य गन्तव्य रहिआएको छ भने रोजगारी र बसोबासका हिसाबले पनि उल्लेख्य संख्यामा नेपालीहरु उता पुगेका छन्। त्यसैले पनि प्राय अस्ट्रेलिया प्राथमिकता पर्ने गरेको छ।
नेपाली संगीतको आस्वादलाई आफूसँगै बोकेर गएका तिनै नेपालीको चाहनालाई ध्यानमा राखेर नेपथ्यले अस्ट्रेलिया यात्रालाई उच्च प्राथमिकता दिँदै आएको छ। यो वर्षको पहिलो नेपथ्य कन्सर्ट भने क्वीन्सल्याण्ड राज्यको राजधानी ब्रिसबेनमा आयोजित हुनेछ। त्यहाँस्थित फोर्टिच्यूड म्यूजिक हलमा, डार्बिनमा नोभेम्बर २२, एडिलेडमा डिसेम्बर ३, होबार्टमा डिसेम्बर ८, सिड्नीमा डिसेम्बर १४ प्रस्तुति दिएपछि यात्राको अन्तिम कार्यक्रम मेलवर्नमा डिसेम्बर २३ का दिन आयोजना हुनेछ।
नेपथ्यको यस वर्षको यात्रा संयोजन ‘नेपाली टच’ ले गर्न लागेको हो। आफ्नो प्रिय ब्याण्डले फेरि अष्ट्रेलियाको यात्रा गर्न थालेकोमा त्यहाँस्थित नेपालीहरु अत्यन्त खुशी रहेको ‘नेपाली टच’ का दिपेश पुनले बताए। ‘श्रोता दर्शकहरुको अपार माया पाउँदै आएको अष्ट्रेलियामा यात्राको सबै तयारी सम्पन्न भएको छ,’ नेपथ्यका गायक एवम् अगुवा अमृत गुरुङले भने ‘अस्ट्रेलियाका हरेक प्रस्तुतिलाई अविस्मरणीय बनाउने क्रममै पहिले कहिलै प्रस्तुत नगरेका केहि गीत पनि यसपालाको यात्रामा समेटिएको छ।’