काठमाडौं _ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले देशका नेताहरुको सत्ता स्वार्थले गर्दा देश सुरक्षित हुन नसकेको टिप्पणी गरेका छन्।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘देश भनेको सबैको साझा हो। देशप्रति जनता ईमानदारिता छन्। तर, नेताहरु ईमानदार भएनन्।’ सरकारमा बसेका नेताहरुभन्दा जनता ईमानदार रहेको उनको भनाई छ।
उनले नेपालको सुरक्षा निकायपनि देशको सीमाप्रति संवेदनशील नभएको गुनासो पोखे। उनले भने,‘सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी कोहीपनि सीमानामा देखिएनन्। सरकारले उनीहरुलाई सीमा सुरक्षाको लागि कतैपनि पठाएको छैन्। यो गम्भिर प्रश्न हो। तराई जाउँ वा उत्तरपट्टिको कोरला नाकाको कुरा होस्, पीडा छन्।’ तराईका जनताले पनि धेरै दुःख पाएको उनको भनाई छ।
उनले भने,‘नेपालको सुरक्षा सरकारले वा नेपालका नेताले गरेका होईनन्। हाम्रो सीमाको सुरक्षा त नेपाली जनताले गरेका हुन्।’उनले सुस्ता, सप्तरी, सर्लाही, कञ्चनपुर, कोरला नाका सबैतिर समस्या रहेको सुनाए। उनले भने,‘कोरला नाकामा चीनले आफ्नोतर्फ बलियो उपस्थिति बनाएको छ। उसको सेनाको बलियो उपस्थिति छ। तर, नेपालतर्फ सुनसान छ।
हाम्रोतर्फ ठगहरुको सलबलाहट छ। त्यही भएर सीमा मिचिएको छ।’ भण्डारीले मुलुकमा धेरै सरकार गठन भएको र धेरै प्रधानमन्त्री भएपनि नेतामात्रै धनी भएको तर देश र जनताको अवस्था दयनीय रहेको टिप्पणी गरे।
नेपालको सरकार कमजोर हुँदा ठूला छिमेकीलाई फाईदा पुगेको उनको भनाई छ। उनले भारत र चीन दुवैसँग सीमाको विवाद कुटनीतिक रुपमा हल गरिनुपर्ने सुझाव दिए। उनले भने,‘नियम, कानून र पूर्वीय दर्शनको थिमअनुसार आफ्नो कुरा राखेर धैर्यतापूर्वक शिष्टाचार भएर कुटनीतिक आधारमा आफ्नो कुरा राख्नुपर्छ।’ उनले नेपालका शासकहरुबाट देशको सीमाको सुरक्षा नभएको बताए।
देशको सीमा समस्याको समाधानको लागि पछिल्लो समय मुलुकमा राष्ट्रिय सहमति बनेको सुनाउँदै यो खुशीको कुरा भएको उनले बताए। उनले भने,‘हामीले अब संयम र सक्षम कुटनीतिक पहल कादम चाल्नुपर्छ। नेताहरु ईमानदार हुनुपर्छ। सरकारले अब पहल गर्नुपर्छ। देशलाई अहिले संकट परेको छ। यस्तो बेलामा घोचपेच गर्नुहुँदैन्।’
भण्डारीले पछिल्लो समय देशमा भ्रष्टाचार मौलाएको पनि टिप्पणी गरे। उनले भने,‘सबै मिलेर खाएका छन्। यो देशका वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सिभिल हस्पिटल छन्, यी सबै अस्पतालहरुमा एक एक अर्ब ईक्युवमेन्ट ल्याईदिएको भए कोहीपनि विदेश उपचार गर्न जानुपर्दैन थियो। डा. प्रेम ज्ञवालीले कोही पनि विदेशी उपचार गर्न जानुपर्दैन् भनेर भनिरहेका छन्। हामीले अब नेपालका अस्पतालहरुलाई सुविधा दिनुपर्छ। यहाँ पनि सक्षम चिकित्सकहरु छन्।’
एनसेलमा पनि सबै मिलेर भ्रषटाचार गरेको उनको आरोप छ। ठेक्कापट्टामा पनि मिलेर नै खाएको उनको भनाई छ। उनले भने,‘तर, जनताका छोराहरुलाई बोरामा हालेर अरब पठाउने मात्रै काम भयो। अब करेक्शन गर्नुपर्छ। जनता असल र ईमानदार छन्। वाईडबडी, एनसेल, सुनकाण्ड सबै मिडियाले बाहिर ल्याएका हुन्। त्यसैले मिडियालाई धन्यवाद दिनुपर्छ।’
उनले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको सुनाए। तर, भारतको विदेश नीति हस्तक्षेपकारी र चीनको साईलेन्स भएको सुनाउँदै नेपालले भारत र चीन दुवै राष्ट्रसँग कुरा गर्नुपर्छ। उनले भने,‘नेपाल त पूर्वीय दर्शनको लिड गरेको देश हो। त्यसैले हामीले लिड गर्नुपर्छ।’ उनले नेपालका नेताहरु धेरै जना जेल जान लायक रहेका पनि उनको भनाई छ। उनले भने,‘सबै नेताहरुको छानबिन गरिनुपर्छ। यहाँ महरा, आलम जेल जान हुने अनि शारदा अधिकारी र हरिनारायण रौनियारलाई किन थुन्न सक्दैन्। किनकी यो सरकार माफियाहरुसँग डराएको छ।’