काभ्रेपलाञ्चोक, १४ माघ – प्रदेश नं. ३ का समाजिक विकासमन्त्री युवराज दुलालले सामुदायिक विद्यालयलाई शैक्षिक रूपमा बलियो बनाइने बताए।
मण्डनदेउपुर नगरपालिका–११ तिमल्सिना गाउँस्थित चण्डेनी माध्यमिक विद्यालयको ४६औँ वार्षिकोत्सव समारोहमा मङ्गलबार उनले भने, “प्रदेश सरकारले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयलाई बलियो बनाउन भौतिक पूर्वाधार, शैक्षिक तथा खेलकुद सामग्री, प्रयोगशाला, विद्यालयमा कार्यरत सहजकर्ताका लागि प्रोत्साहन भत्ता तथा शिक्षकलाई आवश्यक तालिमको व्यवस्था गरिनेछ।”
मन्त्री दुलालले काभ्रेपलाञ्चोकमा प्रदेश नं. ३ को राजधानी बनाउन पहल भइरहेको धारणा पनि व्यक्त गरे।प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले सामुदायिक विद्यालयले नतिजा राम्रो ल्याएर निजी विद्यालयमा जाने विद्यार्थीलाई आकर्षित गर्नुपर्नेमा जोड दिए।
मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले नगरभित्रका सामुदायिक विद्यालय, व्यवस्थापन समिति र शिक्षकलाई प्रतिस्पर्धा गराई उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने बताए। गोरखापत्र संस्थानका कानुनी सल्लाहकार कुमार भट्टराईले विद्यालयको प्रगतिको कामना गरेका थिए।(रासस)