काठमाडौं–लोकप्रिय सर्जक उषा थपलिया र उनकी छोरी संविदा वाग्लेको दुई छुट्टाछुट्टै पुस्तक र एक म्युजिक भिडिओ सार्वजनिक गरिएको छ। गत शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले उषा थपलियाको पुस्तक ‘नारी ! तिमी हारेकी छैनौं’ र छोरी संविदाको पुस्तक ‘नवपल्लव’ सार्वजनिक गरेका हुन्।
दुवै पुस्तक ओरियन्टल पब्लिकेशनले बजारमा ल्याएको हो। ‘नारी ! तिमी हारेकी छैनौं’ पुस्तकमा उषाका निजी अनुभूति, सामाजिक विषयवस्तुका निवन्ध तथा संस्मरण, नियात्रा, कथा लगायत अलग–अलग विधाका पूर्वप्रकाशित २६ वटा लेखहरु समावेश छन्। यसैगरी १५ वर्षीया संविदाको पुस्तकभित्र पूर्वप्रकाशित ५३ वटा लेखहरु समावेश छन्। सानै उमेरमा उनको यो लेखनले सबैलाई चकित बनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेता नेपालले आमा उषा थपलियाको प्रकाशित लेखहरुको सँगालो ‘नारी ! तिमी हारेकी छैनौं’ र छोरी संविदा वाग्लेको सृजना ‘नवपल्लव’ नामक पुस्तकले सुन्दर समाज निर्माणमा उत्प्रेरणा जगाउने विश्वास व्यक्त गरे।
सोही कार्यक्रममा आमा उषा र छोरी संविदाको युगल गायन रहेको ‘तिमी पाएरै खुल्यो जिन्दगीको अर्थ’ गीतको म्युजिक भिडिओ समेत लोकार्पण गरिएको छ। सो गीतमा उषा थपलियाकै शब्द र संगीत छ। म्युजिक भिडियोको निर्देशन गायक तथा संगितकार रिदम कँडेल र सम्पादन राजाबाबु थारुले गरेका हुन् ।