एजेन्सी– युरोकप छनोट खेलमा पोर्चुगलले लक्जेमवर्गलाई पराजित गर्दै युरोकपमा स्थान पक्का गरेको छ। आइतबार राति भएको खेलमा पोर्चुगललाई जिताउन स्टार क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेज गोल गरेका थिए।
पाहुना टोली पार्चुगलले खेलको शुरुवातदेखि घरेलु टोलीलाई दबाबमा राखेको थियो। प्रतिपर्धात्मक खेलमा पोर्चुगलले ३९ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो। पोर्चुगलका लागि ब्रुनोले उक्त गोल गरेका थिए। ब्रुनोले बर्नाडो सिल्भाको पासलाई सदुपयोग गरेका थिए।
पहिलो हाफमा एक गोल मात्र भएको खेलको दोस्रो हाफमा पोर्चुगलले थप एक गोल गरेको थियो। खेल सकिन ४ मिनेट बाँकी रहँदा रोनाल्डोले गोल गर्दै पोर्चुगलाई २–० को जित दिलाएका थिए। पोर्चुगलका लागि रोनाल्डोको यो ९९ औं गोल हो।
जितसँगै पोर्चुगल ८ खेलबाट १७ अंक जोड्दै दोस्रो स्थानमा रहेर युरोकपको लागि छनोट भयो। शीर्षस्थानको युक्रेनको २० अंक रहेको छ।