पर्सा– काठ तस्कर र वन गस्ती टोलीबीच गोली हानाहान भएको छ। सवडिभिजन वन कार्यालय अन्तर्गतको राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गरेको तस्कर समूह र वन गस्ती टोलीबीच गोली हानाहान भएको हो।
गोप्य सूचनाको आधारमा सवडिभिजन वन कार्यालय बढनिहारबाट सुवेदार प्रदीप तिमल्सिना नेतृत्वको गस्ती र साइकलमा काँचो सालको गोलिया ल्याउँदै गरेका तस्कर समूहबीच जम्काभेट भएको थियो। तस्कर समूहले वन गस्ती टोलीलाई लक्षित गरी एक राउण्ड फायर गरेपछि जवाफमा वन गस्ती टोलीले दुई राउण्ड फायर गरेको डिभिजन वन कार्यालय पर्साका प्रमुख राजेश्वरमान श्रेष्ठले जानकारी दिए।
घटनास्थलबाट वन गस्ती टोलीले चार वटा सालको गोलिया काठ, काठ ओसार्न प्रयोग गरिएको साइकल ४ थान, दुईवटा हाते आरा र दुई वटा बञ्चरो बरामद गरेको वन गस्ती टोलीले जनाएको छ। बरामद काठ र साइकल आवश्यक कारबाहीका लागि शव डिभिजन वन कार्यालय बढनिहारमा राखिएको छ। यसअघि तिमल्सिना नेतृत्वको टोलीले नै पर्साको सखुवा प्रसौनी गाउँपालिका ३ मा सञ्चालित सुदामा समिलबाट ४५ क्युफिट सालको काँचो काठ बरामद गरेको थियो।