काठमाडौं–पछिल्लो समय फिल्म प्रचार–प्रसारको नयाँ शैली अपनाउन थालिएको छ। ‘दि भ्वाइस अफ नेपाल–सिजन २’ को लोकप्रियता सँगै यो शोमा पुगेर चलचित्रको प्रमोशन गर्ने क्रम पनि बढेको छ। हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको यो रियालिटी शो अहिले लाइभ राउण्डमा पुगेको छ।
शनिबार प्रशारण भएको ‘दि भ्वाइस अफ नेपाल’ को २८ औं एपिसोडमा भने नायक आर्यन सिग्देल पुगेका छन्। रिलिजको तयारीमा रहेको चलचित्र ‘च च हुई’ को प्रचारको लागि आर्यन आफ्ना सहकर्मी कलाकार भोलाराज सापकोटाको साथमा पुगेका हुन्। आर्यनले भने,‘तपाईहरु जो–जो यहाँसम्म आइपुग्नु भएको छ, तपाईहरु विजयी भइसक्नु भएको छ। यहाँहरुलाई आगामी दिनको लागि शुभकामना भन्न चाहन्छु।’
२८ औं एपिसोडको सुरुवात चलचित्र ‘च च हुई’मा समावेश ‘सिल्की सिल्की बाल’ बोलको गीतबाट सुरु भएको थियो। संजय, विकास र शसिकाले उक्त गीत गाएका थिए। प्रतियोगीहरुले यो गीत गाउँदा आर्यन र भोला झुमिरहेका थिए। साम्तेन भुटियाको निर्देशनमा बनेको यो चलचित्रमा मिरुना मगर, माओत्से गुरुङ लगायतको मुख्य भूमिका छ। अमित गुरुङले निर्माण गरेको यो चलचित्र मंसिर ६ गते रिलिज हुँदैछ। आर्यनको पछिल्लो समय आशा गरिएको सिनेमा पनि हो।