गुलरिया – बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउदै हुनुहुन्छ ? त्यसो भए एउटा काठको लौरो बोकेर आउनुहोला। निकुञ्जले बन्यजन्तुको आक्रामक गतिबिधि बढ्न थालेपछि लौरो बोकेर मात्रै प्रवेश गर्न अनुमति दिने मापदण्ड बनाएको छ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पर्यटकिय गतिविधि संचालनका लागि नया मापदण्ड निर्धारण गरेको हो। प्रकृतिपथ प्रर्दशक लगायत पर्यटन ब्यवसायीलाई आचारसंहिता सहित निकुञ्ज प्रवेशको समयसीमा तोक्दै निकुञ्ज भित्र अवलोकन गर्दा काठको लौरो अनिवार्य बोक्नुपर्ने ब्यवस्था लागु गरेको छ।
निकुञ्जमा बाघसहितका बन्यजन्तुको गतिविधि हिँसात्मक बन्न थालेपछि पथप्रर्दशकको सुरक्षाका लागि अनिवार्य रुपमा लौरो बोक्नुपर्ने आचारसंहिता जारी गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए। नयाँ नियम अनुसार पर्यटकहरु जुन प्रवेशद्वारबाट भित्रिएका हुन् सोहीद्वार हुँदै फर्किनुपर्ने छ।
जंगल सफारीका बेला हुनसक्ने र्दुघटनाको संभावनालाई मध्यनजर गर्दै पथप्रर्दशकले अनिवार्य रुपमा र्दुघटना वीमा गर्नुपर्ने प्रावधान आचारसंहितामा रहेको छ। ‘जंगल वाकमा जाँदा पर्यटकको सुरक्षा र सुविधालाई हेरी बढीमा ३ पर्यटकलाई १ जना, ३—१० जनालाई २ जना र १० जना भन्दा बढी पर्यटकलाई ३ जना पथप्रदर्शकहरुले अनिवार्य रुपमा गाईड गर्नुपर्ने ब्यवस्था गरेका छौं, भण्डारीले भने।
सवारी साधनको रंग प्रकृतिसँग मेल खाने हरियो रंगको हुनुपर्छ। निकुञ्ज भित्र जंगलवाक, सफारी, क्याम्पिङ्ग, फिसिङ्ग लगायतका कृयाकलापका लागि अलग अलग क्षेत्र तोकिएको उनले बताए। जंगलभित्र हुने प्रदुषण लगायत कोलाहल नियन्त्रण गर्न निकुञ्जले प्रयास गरेको उनले बताए। निकुञ्ज क्षेत्रमा प्लाष्टिकजन्य फोहरहरु लैजान निषेधित गरिएको छ।
निकुञ्जमा गाईड गर्ने प्रकृतिपथ प्रर्दशकको दस्तुरसँगै उनीहरुको वर्गिकरण गरिएको छ। सिनियर, जुनियर र सहयोगी तिन किसीमका गाईडहरुको दस्तुर पनि फरक फरक निर्धारण गरिएको जनाईएको छ। त्यस्तै निकुञ्ज प्रवेश गर्ने सवारीको प्रकार र भाडादर पनि निर्धारण गरिएको छ। निकुञ्ज भित्र सवारी लैजाने चालकले निकुञ्ज प्रवेश पत्र तथा चालक अनुमति पत्र अनिवार्य रुपमा साथमा राख्नुपर्ने प्रावधान छ।
पर्यटक, प्रकृतिपथ प्रर्दशक लगायत पर्यटन ब्यवसायीलाई निकुञ्ज भित्र बन्यजन्तुबाट सुरक्षित राख्न सचेत पारिएको छ। रेञ्जरको संयोजकत्वमा निकुञ्जको पर्यटन समिति निर्माण गरिएकाले जंगल भित्रको आचारसंहिता पालना गरेको वा नगरेको समितिले नै अनुगमन गर्ने संयन्त्र बनाइएको छ।
निकुञ्जले हालसालै निकुञ्ज प्रवेशमा लौरो अनिवार्य गरेपनि गाईडहरुले पहिलेदेखि नै बोक्दै आएको बरिष्ठ प्रकृतिपथ प्रर्दशक रामबहादुर शाहीले बताए। जंगल भित्र नियमपालना गर्दै हरियो कपडा, जुत्ता लगायत धेरै कुराहरुको ध्यान दिन सके मात्र सुरक्षा हुन सक्ने शाहीले बताए।