गलकोट, १५ माघ –बागलुङको उच्च पहाडी भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै पर्यटकीय स्थलमा हिउँमा रमाउन आउने पर्यटकको घुइँचो लागेको छ।
जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र ढोरपाटन, गाजाको दह, थामाको नेटा, निसी, तमान, ताराखोला, घुम्टेलगायत स्थानमा बाक्लो हिमपात भएको छ। हिमपातपछि रमाइलो गर्न दैनिक सयाैँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइमा नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटन उपत्यका र थामाको नेटा परेको छ।
चिसोका कारण सुनसान बनेको ढोरपाटन शिकार आरक्ष कार्यालय रहेको उपत्यका क्षेत्रमा हिमपातपछि पुनः चहलपहल बढेको छ। जिल्ला सदरमुकामदेखि ढोरपाटन पुग्ने सडकको स्तरोन्नति भएसँगै यस वर्ष अहिलेसम्मकै बढी पर्यटक आएको स्थानीयवासीले बताएका छन्। छिमेकी जिल्लालगायत राजधानीबाट समेत पर्यटक हिउँमा खेल्न आएको पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए।
सरकारले हालै सार्वजनिक गरेको नयाँ पर्यटकीय गन्तव्य ढोरपाटन र गाजाको दहप्रति पर्यटक आकर्षित भएका हुन्। केही दिनदेखि लगातार हिमपात भएसँगै ढोरपाटन उपत्यका, ढोरबराह क्षेत्र आसपासमा तीन फिटभन्दा बढी हिँउ जमेको स्थानीयवासी वीरबहादुर थापाले बताए। पर्यटकको आगमन बढेसँगै होटलमा बस्न समस्या भएको छ। ढोरपाटन सिकार आरक्ष समुन्द्री सतहबाट दुई हजार ८५० मिटर उचाइमा अवस्थित छ।
सदरमुकाममा बस्ने अधिकांशले हिउँसँग खेल्न पाउँदा खुशी प्रकट गरेका छन्। हिउँमा खेल्न पाउँदा साह्रै रमाइलो भयो , थामाको नेटा हिउँमा खेल्न आएका सूर्य खड्काले भने। जिल्लाको ढोरपाटन, ताराखोला, निसीआसपासका क्षेत्रमा मात्र पर्ने हिउँ यसपालि बागलुङको अधिकांश स्थानमा परेपछि कृषक उत्साहित बनेका छन्। हिउँ खेल्नकै लागि ढोरपाटन जानेको सङ्ख्या ह्वात्तै बढेको छ। होटल तथा रेष्टुराँको कारोवारसमेत बढेको छ।(रासस)