एजेन्सी – अमेरिका र दक्षिण कोरियाले गर्न लागेको संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताएका छन्।
उत्तर कोरियासँग जारी आणविक निःशस्त्रीकरण वार्तालाई सहजीकरण गर्न संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी भनाइ छ। उत्तर कोरियाले आफ्नो मुलुकमाथि आक्रमण गर्ने नियोजित षड्यन्त्र स्वरूप संयुक्त सैन्य अभ्यास गरिएको भन्दै विरोध गर्दै आएको थियो।
उत्तर कोरियाले अमेरिकालाई यस वर्षको अन्त्यसम्म दुबै मुलुकलाई स्वीकार्य स्पष्ट योजनासहित अघि आउन आग्रह गरिआएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको पहिलो शिखर वार्तापछि अमेरिका र दक्षिण कोरियाले गत वर्ष पनि धेरैवटा संयुक्त सैन्य अभ्यास रद्द गरेका थिए।
यद्यपि यसै महिनाको अन्त्यतिर संयुक्त हवाई अभ्यास गर्ने तयारी गरिएको थियो। अमेरिकी रक्षामन्त्री एस्परले संयुक्त सैन्य अभ्यास स्थगित गरिएको जानकारी दिए। उनले भने, ‘कोरियाली द्वीपमा शान्ति स्थापना गर्ने र उपयुक्त वातावरण निर्माण गर्ने उद्देश्यले यो मित्रवत् निर्णय गरिएको हो।’
थाइल्यान्डको राजधानी बैंककमा एशिया प्रशान्त क्षेत्रका रक्षामन्त्रीहरूको बैठकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिकी रक्षामन्त्री एस्परले उत्तर कोरिया पनि वार्ताको टेबलमा चाँडै आउने विश्वास व्यक्त गरे। उनले संयुक्त सैन्य अभ्यासमा गरिएको ढिलाइले दुबै मुलुकका कूटनीतिज्ञबीच जारी वार्ता फलदायी हुन सहज बनाउने बताए।
स्वीडेनमा गत अक्टोबरमा शुरु भएको दुबै मुलुकबीचको वार्ता एकाएक भंग भएको थियो। वार्तामा उत्तर कोरियाली प्रतिनिधिमण्डलले अमेरिकाबाट पुरानै प्रस्ताव आएको भन्दै असन्तोष प्रकट गरेका थिए।