एजेन्सी– इमर्जिङ टिम्स एसिया कपमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ। नेपालले दिएको १ सय ३९ रनको विजयी लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो।
बंगलादेशको सहज जितमा नाजमुल होसाइन शान्तोले नटआउट ५९ रनको अर्धशतकीय पारी खेले। उनले ५६ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए। अर्काब्यााट्सम्यान मोहम्मद लाइमले ४५ रन तथा यसर अलीले १८ रनको योगदान दिए। नेपालको बलिङमा करण केशी र सुशन भारीले एक एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै १ सय ३८ रन मात्र बनाउन सक्यो। नेपालको लागि सोमपाल कामीले सर्वाधिक ३८ रन बनाए। नेपालका कुशल भुर्तेल १० रनमा आउट भए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए। शरष भेषवाकर १ रनमा पवेलियन फर्किए।
टप अर्डरका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी ६ रनमा आउट हुँदा आरिफ शेखले ११ रन जोडे। त्यस्तै सन्दीप जोरा डक आउट हुँदा विनोद भण्डारी ८ रनमा समेटिए। नेपालका लागि करण केशीले १८ रनको योगदान दिए।
बंगलादेशको बलिङतर्फ मिनहाजुलले १० ओभरमा २९ रन दिएर ३ विकेट लिए। अर्का बलर सुमोन खानले ८.३ ओभरमा २९ रन खर्चिँदै ३ विकेट र तानवीर इस्लामले २ विकेट हात पारे।
समूह बीमा रहेको नेपाल तालिकाको तेस्रो स्थानमा छ। नेपालले यसअघि भारतसँग पराजित भएको थियो भने हङकलाई पराजित गरेको थियो। सेमीफाइनल प्रवेश गर्न नेपालले बंगलादेशलाई पराजित गर्नेै पर्ने थियो। समुह ‘बि’ बाट नेपाल र हंगकंग बाहिरियो भने भारत र बंगलादेश सेमीफाइनल प्रवेश गर्यो।