तस्विर: नेपाली पत्र
एजेन्सी — भारतको ४७ औं प्रधान न्यायाधीश पदमा न्यायाधीस अरबिन्द बोब्डे नियुक्ति भएका छन्।
भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा न्यायाधीश बोब्डेलाई प्रधान न्यायाधीशको पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथग्रहण कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह समेतका उच्च पदस्थ व्यक्ति उपस्थित थिए।
प्रधान न्यायाधीश रन्जन गोगोईको कार्यकाल समाप्त भएका कारण न्यायाधीश बोब्डे प्रधान न्यायाधीश भएका हुन्। गोगोई करिब १३ महिना भारतको प्रधान न्यायाधीश भएका थिए। उनले यही नोभेम्बर १७ मा अवकाश प्राप्त गरेका थिए।
न्यायाधीश बोब्डे सन् १९५६मा भारतको महाराष्ट्रस्थित नागपुरमा जन्मिएका हुन्। उनले नागपुर विश्वविद्यालयबाट कानुनमा एलएलबी र बिए सम्मको अध्ययन गरका थिए।
भारतीय उच्च अदालतमा न्यायाधीश रहेर सेवा गरेका उनले सन्। २०१३ मा भारतीय सर्वोच्च अदालतको न्यायाधीशमा पदोन्नति भएका थिए। न्यायाधीश बोब्डेले आगामी सन् २०२१को अप्रिल १३ मा अवकाश प्राप्त गर्नेछन्।