(तस्विरः सेताेपाटी)
काठमाडाैं– नेपाल र भारतबीचको सीमा विवाद उत्कर्षमा छ। भारतले आफ्नो राजनितिक नक्सामा नेपाली भूभाग लिपुलेक, कालापानीलाई समेटेपछि नेपालमा त्यसकाे चर्को विरोध भइरहेको छ।
नेपाल सरकारले औपचारिक रुपमा भारतको उक्त कदमप्रति असहमति जनाइसकेको थियो भने विभिन्न राजनितिक दलहरुले त्यसमा आपत्ति जनाइसेका थिए। यसैबीच मौन रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार यस विवादमा मुख खोलेका थिए। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा रहेका भारतीय सेना फिर्ता लैजान आग्रह गरेका थिए।
पहिलो पटक सार्वजनिक रूपमा कालापानी विवादबारे बोलेका ओलीले भारतलाई सेना फिर्ता लैजान आग्रह गर्दै नेपालले अरुको भूमि नमिच्ने र मिचिएको भूमि फिर्ता ल्याउने बताएका थिए। उनले सरकारले आफ्नो भूमि एक इन्च मिच्न नदिने बताएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति नेपाली मिडियाको लागि मात्र नभएर भारतीय मिडियाको लागि पनि चर्चाको विषय बन्यो।
आइतबार भारतका विभिन्न मिडियाले ओलीले दिएको अभिव्यक्तिलाइ प्राथमिकताका साथ छापेका छन्। भारतका विभिन्न अनलाइन मिडिया तथा दैनिक पत्रिकाले विभिन्न शीर्षकमा खबरहरु प्रकाशित गरेका छन्। ओलीले कालापानी क्षेत्र नेपालको भएको तथा एक इन्च जमिन मिच्न नदिने र भारतीय सेना हटाउन आग्रह गरेको कुरालाई मध्यनजर गर्दै भारतीय सञ्चारमाध्यमहरुले समाचार लेखेका हुन्।
भारतले भने कालापानी क्षेत्रमा नेपाली सीमा मिचिएको कुरा अस्वीकार गर्दै आएको छ। कात्तिक २१ गते नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नयाँ नक्साले नेपालसँगको सीमा परिवर्तन नगरेको दाबी गरेका थिए।