एजेन्सी– पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० को ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका ७ खेलाडी समेटिएका छन्। सिजन २०२० को पिएसएलका लागि उनीहरु ड्राफ्टमा परेका हुन्।
आइतबार सार्वनजिक ड्राफ्टमा नेपालका पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, आरिफ शेख, रोहितकुमार पौडेल, शरद भेषवाकर र बलर सोमपाल कामी रहेका छन्। सातै जना सिल्भर क्याटागोरी (विदेशी) मा समावेश भएका छन्। यो क्याटागोरीको मूल्य १५ हजारदेखि ३५ हजार अमेरिकी डलर रहेको छ। ड्राफ्टको इमर्जिङ क्याटागोरीको ड्राफ्टको नाम सार्वजनिक हुन बाँकी छ।
यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने विदेशी खेलाडीको ’प्लाटिनम’ श्रेणीमा परेका थिए। यो क्याटागोरीको मूल्य १ लाख ४७ हजार डलर देखि २ लाख १८ हजार डलर छ। ड्राफ्टमार्फत पिएसएलका ६ टिमले खेलाडी आ–आफ्नो टिममा आबद्ध गर्नेछन्।
ड्राफ्टमा टिमहरुले ३ जना प्लाटिनम, ३ जना डाइमन्ड, ३ जना गोल्ड, ५ जना सिल्भर र २ जना इमर्जिङ क्याटागोरीमा रहेका खेलाडी आबद्ध गर्नु पर्नेछ। एक टिमले कम्तिमा १६ खेलाडी राख्नु पर्नेछ। जसमा ११ जना पाकिस्तानी र ५ जना विदेशी खेलाडी टिममा आबद्ध गर्न पाइनेछ।
यस्तै थप २ जना खेलाडी आबद्ध गर्नु परेमा १ जना पाकिस्तानी र १ जना विदेशी खेलाडी राख्न पाइने नियम छ। फेब्रुअरीमा पाकिस्तानमा हुने तय पिएसएलको खेलाडी छनोटका लागि आगामी डिसेम्बर ६ र ७ मा ’ड्राफ्ट’ हुनेछ।