काठमाडाैं– भारतले जारी गरेको प्रशासनिक नक्सामा लिपुलेक, कालापानीलगायतका नेपाली भूभाग समेटिएको विषयमा नेपालमा त्यसको चर्को विरोध भइरहेको छ। यसैबीच भारतले चीनको पनि भूभाग मिचेको चिनियाँ प्राध्यापकले बताएका छन्।
सोमबार नेपाली पत्रकारहरुसँगको कुराकानीमा नेपाल भ्रमणमा रहेका चिनिया थिंक ट्यांक तथा प्राध्यापकहरुले यस्तो जानकारी दिएका हुन्। उनीहरुले भारतले चीन र पाकिस्तानको भूभागसमेत नयाँ नक्सामा हालेको आरोप लगाएका छन्।
प्रेस काउन्सिल नेपालले आयोजना गरेको छलफल कार्यक्रममा चाइना इस्टिच्युट अफ फुदान विश्वविद्यालयका निर्देशक तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ प्राध्यापक झाङ वेइवेइले छिमेकी सबै मुलुकसँग भारतको सीमा समस्या रहेको बताएका थिए।
चाइनिज एकेडेमी अफ इन्टरनेशन ट्रेड एण्ड इकोनोमिक ओअपरेशनका उप निर्देशक झु काइहुवाले नेपाली भूमि भारतले मिचेको बारेमा चीन जानकार रहेको बताउँदै यो समस्या दुई देशबीचको वार्ताबाट समाधान हुनुपनेृ धारणा व्यक्त गरे। झु काइहुवाले नेपाली भूभागमात्र होइन लद्दाखको नक्सामा चीन र पाकिस्तानको भूभाग समेत भारतले आफ्नोमा देखाएको बताए।
भारतको सो नक्साका बारेमा चीनले आधिकारिक रुपमा आपत्ति जनाएर त्यसलाई अस्वीकार गरिसकेको समेत उनले जानकारी दिए। नेपाल भारत सिमा समस्याबारे चीनको विदेश मन्त्रालयले आफ्नो धारणा राखिसकेको भन्दै उनीहरुले लिपुलेकको बारेमा पनि चीन आवश्यकता परेमा छलफल गर्न तयार रहेको बताए। उनले नेपालको सार्वभौमिकतालाई भारतले सम्मान गर्नुपर्ने जनाए।
चीनको विदेश मन्त्रालयको एशिया मामिला सम्बन्धी बिभागकी द्धितीय सचिव किन वेन्सीले राष्ट्रपति सी जिनपिङको भ्रमणले नेपाललाई चीनले महत्व दिएको प्रष्ट हुने बताइन्। उनले भारतसँगको सिमा समस्या चीनले पनि भोगिरहेको भन्दै छलफलबाटै समाधान हुनुपर्ने बताइन्।