काठमाडौं – सहुलियत रुपमा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले मङ्सिर १ गतेदेखि एक महिने पुस्तक प्रदर्शनी शुर गरेको छ।
दुईदेखि रु एक हजार ४ सयसम्मका पुस्तक राखिएको प्रदर्शनीमा ६० प्रतिशत सम्मको छुट दिने भएको छ।
संयोजक सुधीर ढुङ्गेलका अनुसार प्रतिष्ठानले प्रकाशन गरेका ५ सय प्रकारका पुस्तक र १ सय प्रकारका पत्रिका सहुलियत मूल्यमा खरीद गर्न सकिने बताएका छन्।
प्रदर्शनीमा रु दुईको ‘काव्य अर्चना’ र रु एक हजार ४०० को ‘प्रज्ञा–नेपाली–अङ्ग्रेजी शब्दकोश’ छन्। यसैगरी पछिल्लो समय बजारमा आएका डा बद्रि पोखरेलको ‘अर्थशास्त्रका शब्दावली’, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को ‘कर्मदर्शन’, जगतप्रसाद उपाध्याय र विष्णुप्रभातले सम्पादन गर्नुभएको ‘दर्शनावली–६’, हेमनाथ पौडेल, सुरेन उप्रेती, शशी लुमुम्बु लगायतले सम्पादन गर्नुभएको ‘अन्तरदेशीय नेपाली कथाहरु’ पनि प्रदर्शनीमा छन्।
यही मङ्सिर मसान्तसम्म आयोजना गरिएको प्रदर्शनीप्रति पाठकको रुचि बढेमा पृथ्वीजयन्तीसम्म अर्थात् आगामी पुस २७ गतेसम्म विस्तार गर्न सकिने संयोजक ढुङ्गेलले बताए। प्रदर्शनीमा प्रकाशन मितिदेखि विसं २०५५ सम्मका प्रतिष्ठानले प्रकाशन गरेका समकालीन साहित्य, प्रज्ञा, सयपत्री, कवितालगायतका पत्रिका रु पाँचमै उपलब्ध गराइने जनाइएको छ।
प्रदर्शनीको उद्घाटन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक देशविदेशमा जानुपर्छ भनी सहुलियत रुपमा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। प्रदर्शनीले पुस्तकको गरिमालाई व्यापकता दिने उनको भनाइ थियो।