काठमाडौं– नव नायिका निकिता चण्डकलाई चलचित्रप्रति ठूलो झुकाव छ। यसैले त नयाँ मिस नेपाललाई क्राउन लगाइदिएसँगै उनले नयाँ चलचित्र साइन गरेकी थिइन्। उनले साइन गरेको नयाँ चलचित्र ‘रानी महल’ बन्दा बन्दै थन्कियो। त्यसपछि के हुने भन्ने अहिलेसम्म अत्तोपत्तो छैन।
चलचित्रको करिब २० प्रतिशत छायांकन सकिएसँगै निर्माण टिममा लफडा चल्यो। यसले, निकिताको नायिका बन्ने सपनामा तत्कालका लागि तुषारापात नै भएको थियो। तर, उनलाई नायक विराज भट्टले चलचित्र ‘साङ्लो’ का लागि नायिका बनाए। यो चलचित्र भने रिलिजका लागि तयार छ।
निकिताको आशा पनि अब, यो चलचित्रबाट करिअरको सुखद सुरुवात गर्ने छ। यसैले त निकिता अहिलेदेखि नै चलचित्रको प्रमोशनका दौडधुप गरिरहेकी छिन्। नेपालमा मिस नेपालहरुको चलचित्र करिअर खासै सुखद छैन। निकिता यसलाई तोड्न चाहन्छिन्। विराजसँगको साथले उनी क्रेज बनाउने दाउमा छिन्। निकिताले ‘साङ्लो’बाट करिअरको सुखद सुरुवात गर्न सकेको खण्डमा उनका लागि फाइदाजनक नै हुनेछ।