काठमाडौं _ झापाको मेचीनगर नगरपालिका–१४ मा रहेको साकम्बरी प्रोडक्टका सन्चालकसहितको मिलेमतोमा गुट्खाजन्य मालवस्तुमा रु ३६ करोड बढीको राजश्व छली गरेको पाइएको छ।
अनुसन्धानमा उक्त कम्पनीका सन्चालक मुकेश शर्मा, रामकृष्ण शर्मालगायत ६ जनाको मिलेमतोमा रु ३६ करोड ५४ लाख बिगो बराबरको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ।
साकम्बरी प्रोडक्टले उत्पादन गरेको अवैध गुट्खाजन्य मालवस्तु माधव इन्टरप्राइजेजसमेतको संलग्नतामा अन्तःशुल्क स्टिकर नलगाइ कानुन बमोजिम बुझाउनुपर्ने अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र आयकरसमेत नबुझाइ बिक्री–वितरण गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।
उक्त घटनामा साकम्बरी प्रोडक्टका सन्चालक मुकेशसहित रामकृष्ण, सुपरभाइजर सदनसिंह तथा माधव इन्टरप्राइजेजका सन्चालक सीताराम शर्मा तथा सवारीधनी आशिष शर्मा र विष्णुप्रसाद खरेलकोसमेत मिलेमतो रहेको देखिएकाले उनीहरुविरुद्ध मुद्दा चलाइएको उनले जानकारी दिए।
यही मंसिर १ गते बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षको कैद सजाय माग–दाबीसहित उनीहरुविरुद्ध जिल्ला अदालत झापामा मुद्दा दर्ता गरिएको विभागले सोमबार एक विज्ञप्तिमार्फत् जनाएको छ।
नक्कली बीजक प्रयोग गरी राजश्व छली
मूल्य अभिवृद्धि करको झुट्टा तथा नक्कली बीजकको प्रयोग गरी राजश्व छल्ने तीनजनाविरुद्ध राजश्व अनुसन्धान विभागले अर्काे मुद्दा चलाएको छ।
उनीहरुले रु एक करोड ७४ लाख २१ हजार बिगो बराबरको राजश्व छलेको अनुसन्धानबाट खुलेको छ।उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग–दाबी गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको विभागले सोमबार एक सूचना जारी गरी जनाएको छ।
गोरखा, हङसपुर घर भइ काठमाडौँ महानगरपालिका वडा नम्बर–३२ बस्ने अम्बेल इन्टरप्राइजेजका सन्चालक विनिता दुवाडीले रु एक करोड २९ लाख, काठमाडौंकै सुसज्जित इन्टरप्राइजेजका सन्चालक सरस्वती गौतम र श्रीमान् रामशरणले रु ४५ लाख ४५ हजार बिगो बराबरको राजश्व छली गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो।
उनीहरुलाई बिगो बराबरको दोब्बर जरिवाना र तीन वर्ष कैद सजायको माग गरिएको छ। रासस