काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारीको चरम लापरबाहीका कारण लाखौं मूल्य बराबरको चामल गोदाममै कुहिएको छ।
नागरिकलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउनुपर्ने सो लिमिटेडले समयमा नै चामल व्यवस्थापन गर्न नसक्दा ठूलो परिमाणको चामल गोदाममै कुहिएको हो। सर्वसाधारण विपन्न नागरिक भने बाहिर धेरै मूल्य तिरेर चामल किन्न बाध्य छन्।
काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको ४ सय ८७.२२ क्विन्टल चामल कुहिएको अवस्थामा पाइएको हो। सो चामल गोदाम नम्बर २४ र ३० मा राखिएको छ।
२४ नम्बर गोदाममा ३ सय २३.१७ क्विन्टल र ३० नम्बर गोदाममा १ सय ६४.०५ क्विन्टल बास्मती चामल कुहिएको अवस्थामा रहेको छ। कम्पनीले बास्मती चामल प्रतिकिलो ८३ रुपैयाँमा बिक्री गर्दै आएको छ।
प्रतिकिलो ८३ रुपैयाँको हिसाबले हेर्ने हो भने ४० लाख ४३ हजार ९२६ रुपैयाँ मूल्यबराबरको चामल गोदाममै कुहिएको छ।
चामलमा अत्यधिक धुलोको मात्रा हुँदा गुणस्तर विश्लेषण गर्न समेत कठिन पाइएको छ। यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुवँरले लेखेकी छिन् ।