एजेन्सी– भारतको आसामस्थित एक बेश्यालयबाट सातजना नेपाली महिलाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरुमा चार जना बालिकासमेत छन्।
मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट उनीहरुको उद्धार गरेको हो।
सिल्चारको सो बेश्यालयमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि नेपालबाट मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको एउटा टोली आसाम पुगेको थियो।
दिल्लीबाटै भारतीय अधिकारीहरुसँग समन्वय गरेर पुगेको शक्ति समूहको टोली प्रहरीसहित पुगेर सोमवार साँझ सात जना नेपाली महिलाको उद्धार गरिएको हो । उद्दार गरिएकामध्ये तीन जना २० वर्ष मुनिका रहेको र चार जना बालिकाहरु रहेको शक्ति समूहका कानुनी सल्लाहकार दिलिप कोइरालाले जानकारी दिए।
गत जुलाइमा एकजना नेपाली किशोरीको सोही ठाउँबाट उद्धार गरिएको थियो। उनकै सूचनाका आधारमा त्यहाँ अरु धेरै नेपाली किशोरी र युवतीलाई यौनकार्यमा लगाइएको पुष्टि भएपछि शक्ति समूहको सात जनाको टोली आसाम पुगेको थियो।
ती युवती र किशोरीलाई बेश्यालयसम्म लैजाने र जबरजस्ती यौन धन्दामा लगाउने लक्ष्मी तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी कोठी सञ्चालिका हुन् कि दलालमात्र हुन् भन्ने खुलेको छैन।
उद्धार गरिएकाहरुलाई आजै त्यहाँको स्थानीय अदालतमा उपस्थित गराउने र कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्काउने पहल भइरहेको शक्ति समूहले जनाएको छ। कानुनी सल्लाहकार कोइरालाले दिल्लीस्थित दूतावासलाई जानकारी दिएर उद्धार गरिएको बताएका छन्।