काठमाडाै – भारतबाट विवाह गर्न सौराहा आउनेको सङ्ख्या बढ्दै गएको छ। यो मौसममा दुलाहा दुलहीसहित सबै बन्दोबस्तीका सामान बोकेर भारतीयहरू विवाहका लागि आउने क्रम बढेको हो।
सौराहाका कुनै एक होटल दुईदेखि तीन रातका लागि पूरै भाडामा लिएर उनीहरु विवाह गर्ने गर्दछन्। साना होटल भए एउटा होटमा दुलाहा र अर्को होटलमा दुलही बसेर बाजागाजाका साथ जन्ती गएर विवाह गर्ने क्रम बढेको छ। ठूला होटल ‘बुक’ गर्दा एउटै होटलमा दुलाहा दुलही राखेर दुलाहालाई बजार परिक्रमा गरी रमाइलो गर्ने गर्दछन्।
होटल सेभेन स्टार र बेष्ट उडका सञ्चालक माधव दुवाडीका अनुसार नोभेम्बर महिनामा मात्र दुई होटलमा दुई÷दुईवटा विवाहको ‘बुकिङ’ रहेको छ। सोमबार सेभेन स्टारमा भारतीय विवाह भएको भन्दै उहाँले दुई वा तीन दिन होटल बुक गरी विवाह गर्ने गरेको बताउनुभयो। एउटा विवाह गर्दा होटलको बगैँचा, सभाहल, कोठा र पानी प्रयोग गरेवापत रु पाँच लाख लिने गरेको दुवाडीको भनाइ छ।
नअट्नेहरू बाहिर होटलमा बस्ने गर्दछन् । एउटा विवाहमा चार सय हाराहारी आउने गर्दछन्। खानादेखि बाजागाजासम्म सबैको तयारी समूह भारतबाटै आउने गर्दछन्। होटल वाइल्डलाइफ क्याम्पका सञ्चालक शङ्कर सैँजुको होटलमा गएको वर्ष एउटा विवाह भएकामा यस वर्ष पनि अर्को विवाह भएको छ। यस वर्ष पट्नाबाट आएका एक जोडीले विवाह गरेको उहाँले जानकारी दिनुभयो।
अन्य होटलहरूमा पनि विवाहका लागि बुकिङ भइरहेको छ। क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका सँैजुले यसबाट अन्य पर्यटकहरूलाई असर नपरोस् भन्नका लागि सावधानी अपनाइएको बताउनुभयो। वन र वन्यजन्तुमा रमाउन पर्यटक आउने भएकाले विवाहका कारण असर नपरोस् भन्नका लागि आफूहरू सचेत रहेको सँैजुको भनाइ छ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गएको वर्षभन्दा यो वर्ष विवाह गर्न आउनेको सङ्ख्या बढेको छ। गएको वर्ष सात÷आठवटा जति विवाह भएको भए पनि यो वर्ष त्यति विवाह भइसकेका छन्। भारतीय सीमा क्षेत्रबाट बढी विवाह गर्न आउने गरेको पाइएको छ। सो क्षेत्रमा मदिरा सेवन गर्न नपाउने भएपछि यहाँ आउने क्रम बढेको हो। मासु र मदिरा सेवन गरेर रमाइलोका साथ विदेशमा गएर कम खर्चमा विवाह गर्न चाहनेहरूका लागि सौराहा उपयुक्त थलो बनेको उहाँले बताउनुभयो।
यस वर्ष धमाधम होटलहरूमा विवाह र बुकिङ हुने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो। यसरी विवाह गर्न आउनेहरू सौराहामा हुने पर्यटकीय गतिविधिहरूमा सहभागी हुने गरेका छन्। यस क्षेत्रका पर्यटन व्यवसायीले गएका दुई वर्ष भारतीय सीमा क्षेत्रका शहरहरूमा पुगेर यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गरेका थिए।
विवाह गर्न भारतीय आउने क्रम बढे पनि नियमित रूपमा आउने पर्यटकको सङ्ख्या घटेपछि व्यवसायी निरास बनेका छन्। क्षेत्रीय होटल सङ्घका अध्यक्ष भट्टराईका अनुसार गएको वर्ष यो समयमा सौराहाका होटलका कोठा ७० प्रतिशत हाराहारी बुकिङ हुने गरेको भए पनि यस वर्ष ४० प्रतिशत हाराहारी मात्र भरिएका छन्। दशैँ र तिहार पछि नोभेम्बर महिना पर्यटकहरू धेरै आउने गर्दथे।
भट्टराईका अनुसार यसरी आएका पर्यटकहरूमध्ये आधाभन्दा बढी चिनियाँ रहेका छन्। के कारणले पर्यटक घटेको हो बुझ्न नसकेको उहाँको भनाइ छ। वन र वन्यजन्तुसँग सम्बन्धित सँगै अन्य पर्यटकीय गतिविधि बढाउनुपर्ने देखिएको भट्टराईले जानकारी दिनुभयो। डिसेम्बर महिनासँगै विदेशीहरू आफ्नै देशमा क्रिसमस र नयाँ वर्षका लागि रमाउने भएकाले यहाँ कम आउने गर्दछन्।
सौराहामा ११० होटल रहेका छन्। यी होटलको क्षमता पाँच हजार ५०० भन्दा बढीे छ। चितवन राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तुको अवलोकन, डुङ्गा शयर, थारू संस्कृतिमा रमाउनका लागि यहाँ पर्यटक आउने गर्दछन्।